काठमाडौं, जेठ २७ । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनका विषयमा बञ्चरे डाँडाका स्थानीय बासिन्दासँग छलफल शुरु भएको छ ।
सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा शुरु भएको छलफलमा शहरी विकासमन्त्री रामकुमारी झाँक्री, नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापा, सांसद रामबीर मानन्धर, प्रकासशरण महत, काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तहका प्रमुख, उप–प्रमुख तथा प्रतिनिधि, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिसँगै बञ्चरेडाँडाका स्थानीय बासिन्दा सहभागी भएका छन् ।
काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच शुक्रबार मध्यराति भएको सहमति अनुसार आजबाट उपत्यकाको फोहोर उठ्ने भएको छ । ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि र महानगरबीचको सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुने जनाइएको छ । स्थानीयवासीका लागि महानगरले नियमित बजेट छुट्टाउनुपर्ने देखि पूर्वाधार निर्माणसम्मको १८ बुँदे सहमति भएको छ ।
फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल