Logo

नेताहरुले जनतालाई ढाँटिरहे सेनापतिले सत्य उजागर गरिदिए



काठमाडौं, ३ असार । अमेरिकासँग हुने भनिएको एउटा सम्झौताले देशको राजनीतिक अवस्था र नेताहरुको ढाँट्ने शैलीलाई जनतासामु छर्लङ्ग पारिदिएको छ । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीको मस्यौदा भनिएको डकुमेन्ट सञ्चारमाध्यममार्फत् बाहिरियो । त्यो डकुमेन्ट राजनीतिक दलमध्येबाटै बाहिरिएको थियो ।

वास्तवमा सेना र परराष्ट्र सम्बन्धसँगको जोडिएको संवेदनशील विषयमा नक्कली मस्यौदाको कागजपत्र बाहिर ल्याउनेबारे अहिले चासो भएको छ । वास्तवमा यो कदम मुख्य दलहरुबीचको द्वन्द्वको परिणाम थियो । एकले अर्कालाई खुइल्याउन संवेदनशील विषयमा समेत हल्का गतिविधि गर्ने नेताहरुको क्रियाकलाप उदांगो भएको छ ।

एसपीपीबारे सदनमा चर्काचर्की भयो । मस्यौदा तयार भएको र अमेरिकासँग सम्झौता शेरबहादुर देउवा नेतृत्वको सरकारले गर्न लागेको विषय उठ्यो । तर, एसपीपी समझदारीका लागि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सरकारको स्वीकृती लिएर पत्र लेखेको खुल्यो । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पत्र लेखिएको सत्य नै भएको स्पष्ट पारे । सेनाले जे हो त्यही बोल्यो ।

क्षेत्रीले लेखेको पत्रको मिति हेर्दा केपी शर्मा ओली प्रधानमन्त्री थिए । यसको अर्थ ओली सरकारको स्वीकृती लिएरै तत्कालीन प्रधानसेनापति क्षेत्रीले पत्र लेखेका थिए । यो घाम जत्तिकै छर्लङ्ग भइसकेको छ त्यो पनि सेनाका बहालवाला प्रधानसेनापतिबाट ।

दलहरुले नेपाली जनतालाई क्षणिक राजनीतिक लाभका लागि धेरै ढाँटिसकेको खुल्दै गएको छ । एक अर्कालाई राष्ट्रवादी देखाउने नाममको कुनै देश विशेषलाई जोडेर समेत गाली गर्न थालेका छन् । यतिसम्मकी देशको भाषा र लिपी नै सखाप पार्ने गरी लागू गर्न लागिएको इम्बोस्ड नम्बर प्लेटमा मुख्य दलका मुख्य नेताहरु नै चुप छन् । उनीहरु यस्तो संवेदनशील विषयमा किन चुप छन् ? चासो बनिसकेको छ ।

शिर्ष नेताहरुले व्यक्तिगत स्वार्थका लागि देशलाई नै जोखिममा पार्ने अभिव्यक्ति र गतिविधि गर्न थालेको देखिन थालेको छ । जनतालाई पटक पटक ढाँट्दा जनआक्रोश बढ्दै गएको छ । दलहरुप्रति वितृष्णा आउने सम्मको अवस्था विकास भएको छ । यसले लोकतन्त्रलाई नै संकटमा पार्ने खतरा बन्न सक्छ । नेताहरुले ढाँट्दा सेनापतिले जे हो त्यही बोले ।-Photo Source: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot