Logo

पञ्चायतकालमा जस्तो नैतिकता देखाएर राजीनामा दिने मन्त्री कोही भएनन्ः लीलामणि पोखरेल



काठमाडौं, ५ असार । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले पञ्चायतकालका कीर्तिनिधि विष्ट, केशरबहादुर विष्टजस्तो नैतिकता देखाएर राजीनामा दिने संस्कार गणतन्त्रमा नदेखिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “सबै मन्त्री विवादमा परेका छैनन् । तर सार्वजनिक रुपमा प्रश्न उठेपछि मन्त्री जवाफदेही नहुँदा राजनीतिलाई खुइलाउने स्थिति बनेको छ । यसलाई पार्टी र पार्लियामेन्टले तत्काल हल गर्नुपर्छ । तर मध्यराति अर्थमन्त्रालयमा बिचौलिया बोलाएको आरोपका सम्बन्धमा मलाई नसोध्दा वेश हुन्छ । यसबारे म तत्काल टिप्पणी गर्ने पक्षमा छैन । यसबारे पार्टी र संसदले हल गर्नुपर्छ ।”
जति आरोप लगाए पनि मन्त्रीहरु थेत्तरो भएर बसिरहेको आरोप पनि उनले लगाए । उनले भने, “कतिपय मन्त्रीले आदर्श राखेका छन्, कतिपयले गुमाएका छन्, कतिपयले बेचेका पनि छन् । मन्त्रीले आफ्नै कर्मचारीलाई कुटेको कुरा आइरहेको छ । कहिलेकाहीँ आरोप मात्र लाग्छ, त्यसमा सत्यता नहुन पनि सक्छ । जति पनि आरोप लागे पनि थेत्तरो भएर बसिररहेका देखिन्छन् । बरु पञ्चायतकालमा रंगशाला काण्ड हुँदा शिक्षामन्त्री केशरबहादुर विष्टले राजीनामा दिए । सिंहदरबार जल्दा कीर्तिनिधि विष्टले राजीनामा दिए । गणतन्त्र आएपछि कुनै पनि मन्त्रीले त्यस्तो नैतिकता देखाएनन् ।”
केपी शर्मा ओलीले एसपीपीबारे थाहा छैन भन्ने हो भने सेना मेरो मातहत थिएन भन्नुपर्ने पनि उनले बताए । पोखरेलले भने, “पहिलो कुरा त सेनाले प्रत्यक्ष कूटनीतिक सम्बन्ध कायम गर्ने होइन । तत्कालीन प्रधान सेनापति राजेन्द्रबहादुर क्षेत्रीले अख्यितारीभन्दा बाहिर गएर दूतावासलाई पत्र लेख्नु प्रक्रियागत रुपमै गलत छ । त्यसको व्याख्या गर्ने क्रममा डिजास्टर म्यानेजमेन्टका लागि मात्र लेखेको भनेर अर्को झूट बोल्यो । अब मलाई सेनाले थाहा दिएन भन्न मिल्छ केपी ओलीले ? कि त सेना मेरो कमान्डमै थिएन भन्नुपर्यो कि वैदेशिक सम्बन्ध उसैको जिम्मामा थियो भन्नुपर्यो । अमेरिकी उपरक्षामन्त्री आउँदा नै रक्षामन्त्री ईश्वर पोखरेलले एसपीपीको पार्ट बन्न सकारात्मक भएको बताएका कुरा आएको छ । आतंकवादविरुद्ध नेपालमा अमेरिकी सेनाको व्यारेक खडा किन गर्नुपर्यो ? यसमा केपी ओली जिम्मेवार हुनुपर्दैन ?”
एमसीसी पारित गर्ने बेला नै आफूले अमेरिकी सेना यो वा त्यो आवरणमा आउने बताएको दाबी पनि उनले गरे । पोखरेलले भने, “व्याख्यात्मक घोषणा या अनेक हर्कत गरे एमसीसी पास गरियो । मैले त पहिले नै एमसीसी सम्झौता देशघाती नै हो भनेको थिएँ । अमेरिकी सेना विभिन्न किसिमले प्रवेश गर्न सक्छ भनेको थिएँ । त्यतिबेला नेपालको भन्दा अमेरिकाप्रति भक्ति देखाउने, अमेरिकी अधिकारीभन्दा पनि अघि बढेर वफादारी गर्ने बुद्धिजीवीहरु अहिले कता छन् ?” साथै उनले गठबन्धनको उद्देश्यभन्दा बाहिर गएर एसपीपीमा सम्झौता गर्नु प्रधानमन्त्री शेरबहादुर देउवाको स्वेच्छाचारिता हुने पनि औंल्याए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot