Logo

सत्ता गठबन्धन बैठकः एसपीपीको विपक्षमा गठबन्धन



काठमाडौं, असार ६ । सत्ता गठबन्धनमा आबद्ध पाँच दल अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विपक्षमा उभिन सहमत देखिएका छन् ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको सत्ता गठवन्धन आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकमा एसपीपीको विषयमा छलफल भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको हितविपरीतका कुनै पनि सम्झौतामा आफूले हस्ताक्षर नगर्ने विषयमा प्रस्ट हुन गठबन्धन आबद्ध दलका शीर्षस्थ नेतालाई आग्रह गरेका थिए ।

बैठकमा सहभागी नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनको बैठकमा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विषयमा व्यापक छलफल भएको र आफूहरूले सो सम्झौता नेपालको हितमा नभएकाले त्यसको विपक्षमा उभिनुपर्ने धारणा राखेको जानकारी दिए ।

बैठकमा नेपाली सेनाले एसपीपीमा सहभागिताको विषयमा अमेरिकी दूवातासलाई लेखेको पत्रका विषयमा पनि छलफल भएको थियो ।

‘नेपाली सेनाले अर्को देशको कूटनीतिज्ञलाई चिठी पठाउने ठीक थियो कि थिएन भन्ने विषयमा छलफल हुनुपर्छ भन्ने विषय बैठकमा उठेको छ, नेकपा एसका अध्यक्ष माधव नेपालले भने ।

एसपीपी सम्झौता मस्यौदामा हस्ताक्षर गर्न नेपाली सेना र नेपाल सरकारलाई अमेरिकी सेनाले ताकेता गरेपछि प्रधानमन्त्रीलाई अमेरिका भ्रमण नगर्न संसदीय समितिले सुझाव दिइसकेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्