Logo

नेपालमा चीनविरोधी गतिविधि नहोस् भन्नेमा विशेष जोड



काठमाडौं, असार २७ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालमा चीनविरोधी गतिविधि नहोस् भन्ने विषयलाई विशेष प्राथमिकतामा राखेका छन् ।

नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएपछि नेपाल भ्रमण गर्ने लिउ दोस्रो उच्च चिनियाँ अधिकारी हुन् । यसअघि गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए ।

चारदिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आइपुगेका प्रमुख लिउले सुरुमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटघाट गरे । नेपालमा राजतन्त्र रहँदा दरबारसँग नजिक रहेको चीनले २०६२/६३ को जनआन्दोलनपछि गणतन्त्र स्थापना भएपछि नेपाल सरकारसँग पटकपटक एक चीन नीतिको विषयमा प्रतिबद्धता खोज्दै आएको छ ।

नेपालको भूमि प्रयोग गरेर आफ्नो मुलुकलक्षित कुनै पनि गतिविधि नहोस् भन्ने चीनको चाहना छ । नेपालमा अमेरिकी सहयोग एमसीसी परियोजना लागू भएपछि आफ्नो विरुद्ध गतिविधि बढ्न सक्ने संशयका कारण चीनले नेपाल भ्रमणलाई पछिल्लो समय विशेष प्राथमिकतामा राखेको छ ।

पछिल्लो समय चीनले नेपालमा हुने हरेक भूराजनीतिक गतिविधिबारे बेइजिङले नजिकबाट हेरिरहेको छ । सुरुवातमा नेपालले एमसीसी अनुमोदन गर्नुअघि चीनले नेपालले अमेरिकासँगको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)लाई असार ६ मा अघि नबढाउने निर्णय गरेपछि खुसी व्यक्त गरेको थियो । जसको अर्थ चीन नेपालमा विदेशीले चीनविरोधी गतिविधि नहोस् भन्ने चाहन्छ ।

प्रधानमन्त्री देउवासँग बालुवाटारमा भएको भेटमा विदेश विभाग प्रमुख लिउले चीनविरोधी कुनै पनि घटना नेपालमा नहोस् भन्ने चीनले चाहेको प्रस्ट पारे । साथै उनले नेपालसँग चीनविरोधी गतिविधि रोक्न प्रतिबद्धतासमेत खोजे । सो भेटबारे जानकारी दिँदै कूटनीतिज्ञ दिनेश भट्टराईले सीपीसीका विदेश विभाग प्रमुख लिउले नेपालसँग सम्बन्ध प्रगाढ बनाउन चाहेको बताएका थिए ।

‘नेपाली भूमिमा चीनविरोधी कुनै पनि गतिविधि हुन नपाओस्,’ लिउनलाई उदृत गर्दै भट्टराईले भने । भट्टराईका अनुसार कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्काले ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालमा कुनै पनि ‘चीनविरोधी गतिविधि हुन दिन्नौं’ भन्दै लिउलाई आश्वस्त पारेका थिए । देउवाले लिउसँग प्रतिबद्धता जनाउँदै आफ्नो कार्यकालमा नेपालमा दलाई लामाको कार्यालय बन्द गराएको स्मरण गराउँदै नेपालको भूमि चीनको विरोधमा प्रयोग हुन नदिने बताए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot