Logo

पार्टीलाई फुट्नबाट जोगाउन नसक्नु मेरो कमजोरीः ओली



काठमाडौं, असार २८ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले राजनीतिक दल र नेताहरूको कमजोरीका कारण जनतामा पार्टीप्रति वितृष्णा बढेको स्वीकार गरेका छन् ।

‘मैले नेपाल कम्युनिस्ट पार्टीलाई फुट्नबाट जोगाउन सकिनँ, नेतृत्वमा रहेको व्यक्तिका रूपमा यस सम्बन्धमा मबाट पनि कमजोरी भयो होला’ आफूलाई त्रुटिविहीन मानवका रूपमा प्रस्तुत गर्ने र कमजोरी स्वीकार नगर्ने नेताका रूपमा चिनिएका अध्यक्ष ओलीले भने– ‘असल नियतले काम गर्दागर्दै, विशाल र एकीकृत नेकपा बनाउने सफलता हासिल गर्दागर्दै पनि त्यो एकता जोगाउन नसकेको म स्वीकार गर्छु ।’

एमालेकै केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार राजधानीमा आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले सम्भवतः पहिलोपटक आफ्नो भागको कमजोरी स्वीकार गरे । उनले दलहरूप्रति जनतामा वितृष्णा बढेको स्वीकार मात्र गरेनन् यसको कारण चिरफार गर्ने प्रयास पनि गरे ।

उनले भने, ‘दलहरूप्रति वितृष्णा फैलाउने काम आजको गठबन्धन सरकार र यसमा रहेका पार्टीहरूले सर्वाधिक गरेका छन्, यत्रतत्र भ्रष्टाचार छ, महँगी बढेको छ, जनताको ढाड सेक्ने काम भएको छ, अनाडीहरूले गलत पात्रको प्रवेश गराएर बजेट बनाएको र एकपछि अर्को देशघाती काम गरेका कारण दलहरूप्रति वितृष्णा बढ्ने नै भयो ।’

अध्यक्ष ओलीले केही दल र नेताहरूको कमजोरीका कारण पार्टीप्रति वितृष्णा बढे पनि यसको विकल्प नरहेको, लोकतान्त्रिक शासन व्यवस्थाको ठाउँमा अर्को व्यवस्था आउन नसक्ने धारणा राख्दै भने, ‘अपवाद जहाँ पनि हुन्छ, पाणिनीको व्याकरणमा त अपवाद छ, दलको विरोध त्यस्तै एक अपवाद हो ।’ नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot