Logo

‘न्यायिक निकायबीच समन्वय हुनुपर्छ’



काठमाडौँ,२९ असार । महान्यायधिवक्ता खम्मबहादुर खातीले न्यायिक क्षेत्रबीच समन्वय जरुरी रहेको बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालयको नवर्निमित भवनको आज समुद्घाटन समारोहमा उनले न्यायिक कार्यालयबीच एक अर्कामा समन्वय र सहयोग हुन जरुरी रहेको बताएका छन् ।

सरकारी वकिल कार्यालय, प्रहरी र अदालतबीच समन्वय हुन नसके न्याय निरुपणमा समस्या आउने उनको भनाइ थियो । अहिले न्यायालयप्रति जनताको आस्था कम्जोर बन्दै गएकाले यसलाई जोगाउन लाग्नुपर्ने उनले बताए । पीडितले न्याय माग्न आए इन्कार गर्न नहुने उनले बताए । अनुसन्धान फितलो हुँदा अभियोजनमा असर पर्ने भन्दै खातीले यसले न्यायमा समेत असर पर्ने बताए ।

जनशक्तिको अभावका कारण छिटोछरितो न्याय दिन नसकिएको उनको भनाइ छ । उनले अहिलेको समयमा एक न्यायधीश बराबर दुई जना सरकारी वकिल आवश्यक रहेको बताए ।

सो अवसरमा नायब महान्यायधिवक्ता कृष्णजीवी घिमिरेले भौतिक पूर्वाधारसँगै जनशक्ति व्यवस्थापनका लागि गृहकार्य सुरु गरिएको बताए । उनले भने, “अहिले जनशक्ति अभाव छ, यसलाई चाँडै नै पूरा गर्ने तयारीमा लागेका छौँ ।”

जिल्ला न्यायाधीश हेमन्त रावलले अहिले न्याय निरुपणका क्रममा प्रतिकूल वकपत्र समस्याको रुपमा रहेको बताए । पीडित असुरक्षित हुँदा प्रतिकूल वकपत्र आउने गरेको उनले बताए । पीडित र आवश्यक प्रमाणको संरक्षण गरी न्याय क्षेत्रमा लाग्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा महान्यायधिवक्ताको कार्यालयका सह–न्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उच्च अदालत हेटौँडाका सहन्यायधिवक्ता सन्देश श्रेष्ठ, सरकारी वकिल कार्यालय चितवनका न्यायधिवक्ता महेश खत्री, चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष रामकृष्ण अधिकारी लगायतले बोलेका थिए ।

विसं २०७६ माघ १४ गते शिलान्यास गरिएको सो कार्यालय भवनको आज उद्घाटन गरिएको हो । भरतपुर महानगरपालिका–१० मा १० कठ्ठा जग्गामा तीन तले भवन निर्माण गरिएको हो । रु चार करोड ९८ लाख ७१ हजार १४१ रकम बोलपत्र कबुल गरी हनुमान कन्ट्रक्सनसँग सम्झौता भई निर्माण सम्पन्न गरिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्