Logo

रवि लामिछानेले भेटे हर्क साम्पाङ, दुवैजना नेपाली पोशाकमा



काठमाडौं, असार ३१ । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच भेट भएको छ।

उनीहरुबीच उपमहानगर प्रमुखको कार्यालयमा आज बिहान भेट भएको हो। स्वतन्त्र पार्टीका नेता दीपक बोहराले सम्पाङ र लामिछानेबीच भेट भएको तस्बिर सामाजिक सञ्जालमा राख्दै भेटवार्ता भएको पुष्टि गरेका छन् ।

लामिछानेलाई उद्धृत गर्दै बोहराले फेसबुकमा लेखेका छन्, ‘तपाईंलाई भेटेरै शुभकामना दिन आएको। खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो, तर सकिएछ। जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला। सहकार्य जारी रहनेछ ।’

सार्वजनिक फोटोमा दुबैजनाले एकै खाले नेपाली लुगा लगाएका देखिन्छन् । विहिबार मात्रै लामिछानेले नेपालमा बनेका लुगाहरु मात्रै लगाउने घोषणा गरेका थिए । विहिबार झापामा आयोजित पार्टीको जिल्ला भेलामा उनले नेपालकै उत्पादनलाई प्राथमिकता दिने भन्दै बिदेशी पोशाक नलगाउने बताएका थिए ।

आज साम्पाङ र लामिछानेले लगाएको तलदेखि माथिसम्मको पोशाक पनि नेपाली उत्पादन हो। सधै साधारण र समान्य पोशाकमा देखिने साम्पाङ हरेक शुक्रबार दौरा सुरुवाल र टोपी लगाएर कार्यालय जाने गरेका छन्। उनीसँगको भेटमा लामिछाने भादगाउँले टोपी, आस्कोटसहितको पहिरनमा देखिएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot