काठमाडौं, साउन ४ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आँगन एउटै छ । एउटै आँगन भएका दुई भवनमा बसेका सरकारी कार्यालयको पत्र एक भवनबाट अर्काे भवनमा पुग्न दुई वर्षभन्दा बढी भयो तर अझै पत्र पुग्न सकेको छैन ।
पर्यटन मन्त्रालय मातहत रहेको तारागाउँ विकास समितिले उक्त मन्त्रालयमार्फत संसद् सचिवालयको दोस्रो तलामा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई २०७७ जेठ १९ गते लेखेको पत्र अझै समितिको टेबुलमा पुग्न सकेको छैन ।
पछिल्लो समयमा पत्र खामबन्दी गरेर कार्यालय नजिक भए कर्मचारीले बुझाउन जाने र इमेलमार्फत पनि पत्राचार गर्ने प्रचलन आइसकेको छ । सरकारले डिजिटल नेपालको अवधारणाअनुसार कागजविहीन सरकारी कार्यालय बनाउने योजना अघि सारिरहेका बेला सिंहदरबारभित्रै आँगन जोडिएका भवनको चिठीमा यति ढिलासुस्ती होला भन्ने कसैले पनि अनुमान गर्न सक्दैन ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तारागाउँ विकास समितिको क्षेत्रभित्र रहेको बौद्व, पोखरा, ककनी, नगरकोट र न्युरोडको सम्पत्ति व्यवस्थित गर्न ताकेता गर्दै जग्गा हिनामिनाकोे विषयमा तालुकदार निकाय पर्यटन मन्त्रालयलाई २०७५ चैत २४ गते निर्देशनसहितको पत्र पठाएको थियो । राष्ट्रको सम्पत्ति व्यवस्थित गर्न दिइएको निर्देशनसहितको सो पत्रपछि पनि विभिन्न मितिमा हालसम्म १४ पटकसम्म पत्राचार भएको छ तर ती निर्देशन कार्यान्वयन हुनु त परै जाओस्, हालसम्म सो पत्रको जवाफसमेत छैन ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिले २०७५ चैत २४ गते पर्यटन मन्त्रालयलाई दिएको निर्देशनउपर मन्त्रालयले एक वर्षपछि तारागाउँ विकास समितिलाई २०७६ चैत ४ गते अन्तर्राष्ट्रिय समितिले सोधेको जवाफ मागेको थियो । उक्त निर्देशनउपर जवाफ दिँदै तारागाउँ विकास समितिले २०७७ जेठ १९ गते नै पर्यटन मन्त्रालयमार्फत जवाफ पेस गरेको दाबी गरे पनि उक्त पत्र अझै समितिमा पुगेको छैन ।
मङ्गलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा तारागाउँ विकास समितिका सदस्यसचिव महेन्द्रबहादुर थापाले २०७७ जेठ १९ गते पर्यटन मन्त्रालयलाई उक्त जवाफ पठाएको बताउनुभयो तर सो पत्र हालसम्म अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नपुगेको देखिँदा समितिका पदाधिकारी नै अचम्ममा परे । गोरखापत्र दैनिकबाट