Logo

नवलपुरमा उठ्यो रु २४ अर्ब राजस्व



काठमाडौँ,४ साउन । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेन । कार्यालयले गत आवका लागि पाएको लक्ष्यभन्दा रु ४१ करोड ५२ लाख २२ हजार कम राजस्व सङ्कलन भएको हो ।

सो कार्यालयका प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले गत आर्थिक वर्ष २०७८÷७९ मा रु २४ अर्ब ११ करोड १२ लाख एक हजार राजस्व सङ्कलन गरेको जानकारी दिए । उनका अनुसार कार्यालयले २०७८ साउन १ देखि २०७९ असार ३२ गतेसम्म रु २४ अर्ब ५२ करोड ६४ लाख २३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको थियो । कार्यालयले राजस्व सङ्कलनमा ९८ दशमलब ३१ प्रतिशत प्रगति हासिल गरेको जनाइएको छ ।

कार्यालयले सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकबाट असुली गरेको छ । अन्तःशुल्कबाट रु २३ अर्ब चार करोड ७२ लाख लाख २७ हजार राजस्व सङ्कलन भएको छ । यस शीर्षकमा लक्ष्यभन्दा १ दशमलब ७० प्रतिशत कम राजस्व सङ्कलन भएको उनले बताए। कार्यालयले अन्तःशुल्क शीर्षकमा रु २३ अर्ब ४४ करोड ६५ लाख २२ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेको थियो ।

त्यसैगरी, कार्यालयले आय करतर्फ रु ६१ करोड ७३ लाख १८ हजार राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले आय करतर्फ रु ५६ करोड ७९ लाख ८१ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेको थियो । कार्यालयले आय करमा लक्ष्यभन्दा रु चार करोड ९३ लाख ३७ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।

त्यस्तै मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ रु ४० करोड ९३ लाख १७ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा रु ३४ करोड ८१ लाख ७६ हजार राजस्व सङ्कलन भएको छ । कार्यालयले मूल्य अभिवृद्धि करमा लक्ष्यभन्दा रु छ करोड ११ लाख ४१ हजार कम राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले लक्ष्य अनुसारको प्रगति हासिल गर्न नसके पनि गत आव २०७८÷७९ मा सङ्कलन गरेको राजस्व अघिल्लो आव २०७७÷७८ मा भन्दा रु सात अर्बले बढी हो । कार्यालयले अघिल्लो आवमा रु १६ अर्ब ६१ करोड ५९ लाख ३७ हजार मात्रै राजस्व सङ्कलन गरेको थियो । पहिले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का करदाताहरुले चितवनको आन्तरिक राजस्व कार्यालय भरतपुरमा कर तिर्दै आएकामा अघिल्लो आर्थिक वर्षबाट जिल्लामै कर तिर्न पाएका हुन् ।

आर्थिक वर्ष २०७७÷७८ को साउन १ गतेदेखि नवलपुरको कावासोतीमा आन्तरिक राजस्व कार्यालय स्थापना भएपछि जिल्लाभित्रका सबै करदाताले यही कार्यालयमा राजस्व बुझाउँदै आएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot