Logo

माओवादीमा फर्कन बाबुराम तयार, पार्टीको नाम फेर्न प्रचण्डलाई सुझाव



काठमाडौं, ५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जसपामा कारबाहीमा परेका नेता डा. बाबुराम भट्टराईबीच आजपनि भेटवार्ता भएको छ । दाहाल र भट्टराई पूर्व सहयोद्धा हुन् । संविधानसभाबाट संविधान जारी भएपछि भट्टराई माओवादी छोडेर नयाँ शक्ति बनाउन लागेका थिए ।

मुलुकमा वैकल्पिक राजनीतिको नेतृत्व गर्ने भन्दै भट्टराईले खोलेको नयाँ शक्ति पार्टी लामो समय टिकेन । उनले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरेका थिए । त्यसपछि बनेको जसपामा उनी संघीय परिषद् अध्यक्ष बने । तर, अहिले भट्टराई पार्टीको कारबाहीमा परेका छन् ।

उनी अहिले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग नियमित सम्पर्कमा छन् । आजपनि दाहाल र भट्टराईबीच ललितपुरको हात्तिवनस्थित एक घरमा भेटवार्ता भएको छ । सो भेटवार्तामा दाहालले समाजवादी केन्द्र बनाएर अघि बढ्न प्रस्ताव राखेको बुझिएको छ । भट्टराई पनि यसमा सहमत छन् ।

उनले सुरुदेखि नै कम्युनिष्ट ब्राण्ड अब बोकेर हिँड्न नसकिने बताउँदै आएका छन् । भट्टराईमाथि उनी पक्षधर नेताहरुको माओवादीमा फर्कन दबाब छ । उनी माओवादीमा फर्कन त तयार छन् । तर, त्यसको लागि उनले दाहालसामू पार्टी पूनर्गठनको माग गरेका छन् ।

उनले पार्टीका नाम नै फेर्न दबाब दिएको बुझिएको छ । दाहालले भने यसबारेमा अहिले कुनै ठोस जवाफ दिएका छैनन् । उनले पार्टीमा छलफल गरेर मात्रै के गर्ने भन्नेबारे निर्णय लिने वचन दिएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot