Logo

वीपीको परिकल्पनाका ‘असल मान्छेहरु’



वीपी कोइरालामा इतिहासको ज्ञानसँगै सयौं वर्ष पछाडिको समाजको परिकल्पना गर्ने क्षमता थियो । उनको साहित्यले यो क्षमता प्रतिबिम्बित गर्छ । वीपीले चराहरु मानिससँग कुरा गर्ने युगका कथाहरु सुम्निमा उपन्यासमार्फत् उतारेका छन् । तर, त्यही सुम्निमा उपन्यासले समाजको दूर भविष्यको तस्बिर उतारिदिएको छ ।

वीपीले देशलाई प्रथम ठाने । त्यसैले राष्ट्रियता प्राथमिकतामा पर्यो उनको । कुनैपन वादभन्दा पहिले राष्ट्रियता महत्वपूर्ण हुने वीपीको चिन्तनबाट प्रष्ट हुन्छ । देशको धरातलीय यथार्थलाई बुझेर वीपीले धेरै विषय बोले । वीपीको कमजोरी भनेको व्यक्ति चिन्न नसक्ने थियो । उनले तुलसी गिरी देखि परशुनारायण चौधरीसम्मलाई बेलैमा चिन्न सकेनन् । जब चिने धेरै ढिला भइसकेको थियो ।

वीपीले असल मान्छेहरु कमैमात्र पाए । विश्वास गरेकाहरुबाटै धोका खाए । त्यसकारण प्रधानमन्त्री हुँदै बर्खास्तगीमा परेर जेल हालिए । उनले सबैभन्दा विश्वास गरेकाहरु नै तत्कालीन राजा महेन्द्रसँग मिलेर पञ्चायतमा प्रधानमन्त्रीलगायत महत्वपूर्ण पद खान पुगे ।

वीपीका परिकल्पनाका असल मान्छेहरु कमै आए गए । विशेषगरी नेपाली काँग्रेसमा वीपीको विचारलाई कार्यान्वयन गर्ने कमै देखिए । जो वीपीको विचारबाट चल्न खोजे ती रुँदै काँग्रेस छाड्न परेको इतिहास साक्षी छ । गणेशमान सिंह देखि कृष्णप्रसाद भट्टराईले जीवनको अन्तिम समयमा काँग्रेस छाड्नुपरेको इतिहास साक्षी छ । त्याग र तपस्याका प्रतिमूर्तिहरु काँग्रेसमा टिक्न सकेनन् । वीपीका असल मान्छेहरु काँग्रेस बने तर काँग्रेसको गुटहरुको भेलमा बग्न सकेनन् ।

वीपी राजनीतिज्ञभन्दा बढी साहित्यकार थिए । उनका साहित्य कालजयी छन् । उनी भन्थे, ठूलो मान्छे बन्न भन्दा असल मान्छे बन्न कठिन हुन्छ । उनी असल बन्न प्ररित गर्थे । ठूलो पदमा पुग्दैमा असल भइँदैन । त्यसैले उनी ठूलो पद अगाडि राखेर भन्दा फरक तरिकाले चिनिन चाहन्थे ।

‘तपाईं आफूलाई पूर्व प्रधानमन्त्री या साहित्यकार के भन्न चाहनुहुन्छ ?’ वीपी कोइरालालाई सोधियो ।

‘रानी भिक्टोरियाको सिक्का बेलायतको म्युजियमा सिमित हुँदा शेक्सपियरका पुस्तक घर घरमा भइरहनेछ,’ वीपीले सटिक जवाफ दिए ।

वीपीको आशय थियो उनी आफूलाई साहित्यकार भन्दा गर्व गर्थे । शक्ति, पद र पैसा क्षणिक थियो भन्ने वीपीको बुझाई थियो । त्यसैले उनले जनताको हृदयमा बास गर्ने गरी जीवन्त पात्रहरु समेटेर कृतिहरु लेखे ।

वीपीले साहित्यलाई सामान्य र सजिलो विषय मानेका छैनन् । जेलको चारपर्खालभित्र कठोर जीवन बिताउँदा निस्केको पीडाको सुस्केका ठान्थे साहित्यलाई । जीवन र मृत्युको लागि छटपटाहट हुँदाको व्यथा थियो साहित्य ।

वीपीले साहित्यमा समाजको तस्वीर मात्र उतारेनन् मानिसको मनलाई पनि उतारे । मनोवैज्ञानिक कथा र उपन्यासले युगको भाषा मात्र बोलेन । ढोंगीहरुबारे खुलस्त पारे ।

कर्नेलको घोडामा अधवैशे कर्नेलको फूर्ति कर्नेलनीले घोडाबाट झर्दा उतारिदिइन् । अनमेल विवाहको परिणाम मात्र नभई पैसा र पावरको बलमा कम उमेरकी युवती विवाह गर्ने तत्कालिन समाजका उमेर काटेका संभ्रान्तहरुको अभ्यासप्रति व्यङ्ग्य गरेका छन् ।

सुम्निमामा वीपीले शरीर र मनबीचको सम्बन्ध र द्वन्द्वलाई दुई विपरित समुदायका पात्र खडा गरेर प्रस्तुत गरेका छन् । मानिसले यौन इच्छालाई जर्बजस्ती नियन्त्रणमा राख्दाको परिणामलाई उतारेका छन् । सुम्निमाको तन ब्राम्हण पतितिर र मन भिल्ल युवकतिर भएको विषयले मान्छे कसरी यौनबाट निर्देशित भइरहेको हुन्छ भन्ने सिग्मन्ड फ्रायडको सिद्धान्तलाई साहित्यमा लागू गरेका छन् ।

वीपीमा भूगोल, समाज र इतिहासको गहिरो जानकारी थियो । आफूले देखेको र भोगेको विषयलाई जसरी साहित्यमा उतारे त्यसले नेपाली समाजलाई आफ्नो विगत, वर्तमान र भविष्यबारे बुझ्ने ग्रन्थ मिल्यो । कोशीको भंगालो देखि चराहरु मानिससँग बोल्ने काल्पनिक युगसम्म उतारेका छन् । समाजको विगत र वर्तमानको अभ्यास मात्र नभई सयौं वर्ष पुरानो अभ्यासबारे दुरदर्शिता व्यक्त गरेका छन् ।

वीपीको कृति नेपाली समाजको विगतलाई हेर्ने भिडियो र तस्वीर मात्र नभई भविष्यको प्रक्षेपणबारे अनुमान लगाउन सक्ने मार्ग बनेको छ । घटना र परिघटनाले मानिसलाई बनाउने र बिगार्ने गर्छ । कसैलाई दिइएको श्राप कहिलेकाहीं उसैका लागि वरदान बन्छ ।

वीपी जेल नपर्दो हुन् त नेपाली साहित्यले कालजयी र अमूल्य कृति पाउँदैनथियो होला । वीपीको जेलजीवनले नेपाली राजनीतिले के पायो के गुमायो अध्ययनको विषय बन्दै आएको छ । तर, उनको जेल जीवनले नेपाली भाषा, समाज र साहित्यले महान् कृतिहरु पायो । जुन कृतिले भावी पुस्तालाई इतिहासप्रति उत्साही हुन सिकाएको छ । इतिहासबाट सिकेर अगाडि बढ्न प्रोत्साहित गरेको छ । सुन्दर भविष्यप्रति आशा जगाएको छ ।

वीपी भन्थे—मानिस ठूलो बन्न सजिलो छ, असल बन्न कठिन छ । असल बन्नु आफैमा संघर्ष हो । जीवनमा लोकप्रीयताको भारी बोक्न रुचाएनन् । न त पुरस्कार र सम्मानको तक्मा थाम्न चाहे । वीपीको छातिमा कसैको निगाहाको तक्मा झुण्डिएन । पूर्व प्रधानमन्त्रीका रुपमा या राजनीतिज्ञका रुपमा उनलाई युग नायकका रुपमा देखाएर राजनीतिक लाभ लिन खोज्नेहरु आउने जाने क्रम चलिरहेको छ । तर, वीपी झन् झन् सार्थक र सान्दर्भिक बन्दै गएका छन् ।

वीपीको राजनीतिक विचार हाम्रो पनि हो भनेर कुनै बेला उनलाई फाँसी दिनुपर्छ भन्नेका चेलाहरुले दाबी गर्न थालिसके । यसैमा वीपीको विचारको प्रभाव र सान्दर्भिकता बुझ्न सकिन्छ । तैपनि, वीपीले आफूलाई राजनीतिज्ञका रुपमा चिनाउन नचाहेको देखिन्छ । वीपीको राजनीतिक विचार एउटा युगसम्म सान्दर्भिक होला तर उनको साहित्यिक सुगन्ध युग युगसम्म फैलिइरहनेछ ।

वीपीको कालजयी कृतिले जीवन र जगतसँग प्रत्यक्ष जोडिएको यौनलाई सभ्य ढंगले प्रस्तुत गरेको छ । यौन र मनोविज्ञानमार्फत् समाजको यथार्थ तस्वीर उतार्न सक्नु वीपीको साहित्यको सौन्दर्य हो । त्यसैले वीपीका कृति घर घरमा पुगेका छन् । उनका तस्वीर मानिसका मन मनमा टाँसिएका छन् । उनीभन्दा पछिका राजाहरुको सिक्का म्युजियममा सिमित भए तर वीपीका कृति मानिसका घर घरमा छन् ।



प्रतिक्रिया दिनुहोस्