Logo

प्रमुख दलहरुमा बढी समाजवादी देखिने प्रतिष्पर्धा



काठमाडौं, ८ साउन । नेपालको संविधानको धारा ४ मा राज्यलाई समाजवाद उन्मुख उल्लेख गरिएको छ । समाजवादको सिद्धान्तलाई संविधान बनाउँदाका मुख्य दलहरुले अंगिकार गर्दै आएका छन् । जसमध्ये नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र देखि मधेश केन्द्रित दलहरु नै छन् ।

नेपाली काँग्रेसले आफ्नो मूल सिद्धान्त नै समाजवाद भनेको छ । नेकपा एमालेले पनि समाजवादलाई प्राथमिकतामा राखेको छ । नेकपा एमालेबाट फेटेको नेकपा एसले पार्टीको नाममै समाजवादी राखेको छ ।

मधेश केन्द्रित दलहरु जसपा र लोसपा दुवैले पार्टीको नाममा समाजवादी शब्द उल्लेख गरेका छन् । यसरी कम्युनिस्ट र गैर कम्युनिस्ट दलहरुले समाजवादलाई सिद्धान्त मानेका छन् । देशमा समाजवादी देखिने प्रतिष्पर्धा नै चलेको छ । समाजवाद राजनीतिक फेशन नै बनेको छ ।

वास्तवमा समाजवादले समानताको विषयलाई उठाउँछ । विशेषत कम्युनिस्ट पार्टीहरुले यसलाई बढी प्रयोग र बहसमा ल्याएका छन् । समाजवादबारे माक्र्सवादी, लेनिनवादी र माओवादीहरुले धेरै बहस चलाए ।

यूरोपमा कम्युनिस्ट नाम त्यागेर बनेका शक्तिहरुले समाजवादीका रुपमा आफूलाई चिनाउन थाले । यूरोपमा समाजवादी दलहरुको प्रभाव निकै बलियो छ । यसकारण पनि यो सिद्धान्त नेपाली माटोको भन्दा पनि पश्चिमबाट प्रभावित भएर भारत हुँदै पसेको बुझ्न सकिन्छ । भारतका नेता जयप्रकाश नारायणबाट प्रभावित वीपीले समाजवादको विचार नेपालमा प्रवेश गराएका थिए ।

रोचक यो छ कि विभिन्न मुद्दामा फरक देखिएपनि नेपालका मुख्य दल काँग्रेस र कम्युनिस्ट दुवै समाजवादी विचारधाराका देखिएका छन् । यतिसम्मकी मधेशवादी दलहरु पनि आफूलाई समाजवादी मान्छन् । कम्युनिस्ट त्यागेका डा. बाबुराम भट्टराई र अशोक राई जस्ता नेता पनि समाजवादी धारमा चलेका छन् । यसरी नेपालको राजनीतिमा समाजवादी बन्ने प्रतिष्पर्धा चलेको छ ।



प्रतिक्रिया दिनुहोस्