काठमाडौं, ८ साउन । अब कारागारमा रहेका दम्पत्तिले प्रजननका लागि यौन अधिकार पाउने भएका छन् । प्रतिनिधि सभाको बैठकले पारित गरेको कारागार विधयेक, २०७८ मा बन्दी जीवन बिताइरहेका दम्पत्ति वा कुनै एकले प्रजनन अधिकारका लागि यौन सम्पर्क गर्न पाउने व्यवस्था छ ।
प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि कार्यान्वयनमा आउनेछ । लामो समययता छलफलमा रहेको यो विधेयकमा प्रजननका लागि यौन अधिकार सुनिश्चित गरिएको छ ।
बन्दी गर्भवती वा सुत्केरी कारागारबाहिर जान पाउने प्रबन्ध पनि गरेको छ । गर्भवती वा सुत्केरी बन्दीका लागि बसोबास, खानपान र स्वास्थ्यपरीक्षणको विशेष व्यवस्था तोकिएको छ ।
बन्दीले पढ्न पाउने व्यवस्था, स्वाबलम्बी बनाउने प्रयास, विवाह दर्ता गर्न पाउने, नाबालक आमासँग बस्न पाउने, भाग्न खोज्ने बन्दीलाई थप कडा सजायको व्यवस्था गरिएको छ ।