काठमाडौं, १० साउन । नेकपा एमालेका नेता विष्णु रिजालले नागरिकता विधेयकलाई आफ्नो पार्टीले नाफाघाटाका हिसाबले नहेरेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिजालले भने, “नेपाल संसारकै दुई ठूला जनसंख्या भएका देशको बीचमा छ । सानो जनसंख्याले हाम्रो देशमा प्रभाव पार्न सक्छ । त्यसैले गलत ढंगले कसैले पनि नागरिकता नपाओस् भनेर हामी सचेत हुनुपर्छ । यसलाई हामीले राजनीतिक लाभ र हानिका हिसाबले हेरेका छैनौं ।”
गुपचुप र रहस्यमय ढंगले कसैलाई बाचा बन्धन गरेजस्तो हतार हतार नागरिकता विधेयक पारित गर्दा आम नागरिकमा संशय पैदा भएको पनि रिजालले बताए । उनले थपे, “प्रतिनिधिसभाबाट फास्टट्रयाकमा नागरिकता विधेयक पारित गरिएको छ । त्यस्तो के हतार थियो ? मुलुकमा राष्ट्रिय संकट आएजस्तो एकै दिनमा पेस गरेर एकै दिनमा पारित गरी अर्को दिन राष्ट्रिय सभामा जानुपर्ने कारण के थियो ? के कानुन बनाउने तरिका यही हो ? यो गुपचुप र रहस्यमय ढंगले भयो । कसैलाई बाचा बन्धन गरेजस्तो जसरी काम गर्दा आम नागरिकमा संशय पैदा भएको छ ।”
वर्तमान ५ दलीय गठबन्धनमा जसरी पनि एमालेलाई रोक्ने र मिलिजुली खानेबाहेक अरु कुनै एजेन्डा नभएको आरोप पनि रिजालले लगाए । उनले भने, “माओवादी केन्द्र र नेपाली कांग्रेसको विचार र दृष्टिकोण मिल्छ ? उनीहरुको जसरी पनि एमालेलाई रोक्ने र मिलिजुली खानेबाहेक अरु कुनै एजेन्डा मिल्दैन । अहिले पनि एमाले एक्लैको ३३, ३४ प्रतिशत मत छ । सबै पार्टी एक ठाउँमा मिल्दा एमालेको सिट कम भएको हो । पराजित वा कमजोर भएको होइन । उनले कहीं कतै सघाउने बाहेक राप्रपा र राप्रपा नेपालसँग चुनावी गठबन्धन नहुने दाबी समेत गरे । शीघ्रातिशीघ्र संघ र प्रदेशको निर्वाचन घोषणा गर्नुपर्ने उनको माग छ ।”
साथै उनले नेकपा (माओवादी केन्द्र) कै कारण निर्वाचन खर्चिलो भएको पनि औंल्याए । रिजालले भने, “निर्वाचनलाई माओवादीले नै खर्चिलो बनाएको हो । उसले सशस्त्र युद्धका बेला लुटेको सम्पत्ति, अवैध तरिकाले कब्जा गरेको पैसा, अनि व्यापारी र दलालहरुबाट लिएको चन्दाले बेसरी खर्च गर्न थाल्यो । त्यसले हामीलाई समस्या पारिरहेको छ । राजनीतिलाई व्यापारीकरण, माफियाकरण प्रचण्डहरुले नै गरेको हो ।”