Logo

भैरहवामा आज पहिलो चार्टर उडान



काठमाडौं, साउन ११ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक सञ्चालनमा आएको दुई महिनापछि पहिलो चार्टर फ्लाइट अवतरण हुँदै छ । भियतनामको नोइ बाई इन्टरनेसनल एयरपोर्टबाट दुईजना भिक्षु यात्रु बोकेर आउने १२ सिटे एठएक्स प्राइभेट जेट काठमाडौँ हुँदै भैरहवामा आज अवतरण हुन लागेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक एवं सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बुधबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने उक्त जहाज १२ः१५ बजे गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।

पाँच दिन सोही विमानस्थलको पार्किङमा रहने उक्त जहाज साउन १६ गते काठमाडौँ हुँदै पुनः भियतनाम फर्कने उडानतालिका रहेको उनले बताए । यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडानमात्रै हुँदै आएका थिए ।

यसअघि वैशाख २८ गते भारतीय सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायुसेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको थियो । जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएसँगै उक्त विमानस्थलबाट अहिले जजिरा एयरवेजले मात्रै उडान गरिरहेको छ ।

दुई महिनाको अवधिमा साढे छ हजार यात्रुले उडानरअवतरण गरेका छन् । तथ्याङ्कअनुसार दुई महिनामा तीन हजार यात्रु यो विमानस्थलमा अवतरण गरेका छन् । नेपालबाट साढे तीन हजार यात्रु जजिरामार्फत विदेश उडेका छन् ।भैरहवाबाट अन्तर्राष्ट्रिय उडानका लागि करिब एक दर्जन वायुसेवा कम्पनीले पनि चासो देखाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot