Logo

डीएसपी सिंहलाई आठ महिना कैद १५ हजार रुपैयाँ जरिवाना



काठमाडौं, साउन १३ । विशेष अदालतले सरकारी कागजात किर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेका डीएसपी रमेशबहादुर सिंहलाई आठ महिना कैद र १५ हजार जरिमाना फैसला सुनाएको छ ।

विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गत चैतमा सिंहलाई दोषी ठहर हुने फैसला गरेको हो । गत चैतमै भ्रष्टाचार मुद्दामा सिंह दोषी ठहर भए पनि फैसलाको पूर्णपाठ भने केही समयअघि मात्रै सार्वजनिक भएको थियो ।

फैसलाको पूर्णपाठअनुसार जन्ममिति सच्याएर प्रहरी सेवामा प्रवेश गरेको पुष्टि गर्दै सिंहले भ्रष्टाचार गरेको ठहरसहित कैद र जरिमाना सुनाइएको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को (१) बमोजिको कसुर सिंहले गरेको पूर्णपाठमा उल्लेख गरिएको छ । सो कसुर गर्नेलाई छ महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिमाना हुने कानुनी प्रावधान छ । सोहीअनुसार सिंहलाई आठ महिना कैद र १५ हजार रुपैयाँ जरिमाना हुने पूर्णपाठमा उल्लेख छ ।

सिंहले प्रहरी निरीक्षकमा १२ मंसिर २०५८ मा भर्नाका लागि आवेदन दिएका थिए । त्यतिबेला २०५८ सालमा परीक्षा दिएकोमा २०६१ सालमा ८४ जना परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये सिंहले पनि नाम निकालेका थिए ।

१५ जेठ २०६१ बाट प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । बझाङ श्री शान्ति माध्यमिक विद्यालय चौघानपाटाबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरेका उनको एसएलसीको सिम्बोल नम्बर ०७०००५४ (बी) हो ।

लब्धांकपत्रमा उनको जन्ममिति १२ माघ २०३२ थियो । प्रहरीमा आवेदन खुलेको बेला उनी २५ वर्ष ११ महिनाको भइसकेका थिए । प्रहरी नियमावलीअनुसार आवेदन खुलेको मितिमा २५ वर्ष ननाघेको व्यक्तिले मात्रै आवेदन दिन मिल्ने व्यवस्था छ ।

प्रहरी नियमावलीको व्यवस्थाअनुसार आवेदन दिन नै सिंह अयोग्य थिए । त्यसपछि सिंहले स्कुलले दिने एसएलसीको चारित्रिक प्रमाणपत्र नक्कली बनाएर पेस गरे । नक्कली चारित्रिक प्रमाणपत्रमा उनको जन्ममिति १२ माघ २०३३ राखिएको थियो भने सर्टिफिकेटमा उनको जन्ममिति १२ माघ २०३२ छ । बझाङबाट जारी नागरिकता प्रमाणपत्रमा समेत उनको उमेर १२ माघ २०३२ नै थियो ।

नागरिकतालगायत अन्य प्रमाणपत्र सच्याउनुपर्ने भएपछि सिंहले सोही चारित्रिक प्रमाणपत्रका आधारमा नागरिकताको प्रतिलिपि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएको भेटिएको थियो । उनले त्यसपछि जन्ममिति १२ माघ २०३३ राखेर बनाएको भेटियो । अदालतले सोही विषय प्रमाण आधार मान्दै सिंंहलाई दोषी ठहर गरेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot