Logo

प्रधानमन्त्रीसँग मन्त्री–सचिव छलफल



काठमाडौं, साउन १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका सबै मन्त्री र सचिवहरूसँग छलफल गर्दै सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा प्रभावकारिता र आयोजना कार्यान्वयनमा जोड दिन निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित विगतका कार्यको समीक्षा तथा चालू आबको बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयनका विषयमा भएको छलफल कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले जनताले अनुभूति गर्नेगरी सेवा प्रवाहमा ध्यान दिनुपर्ने र सुशासन कायम गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले विकास आयोजना समयमा नै सम्पन्न हुन नसक्नुका कारण पहिचान गरी ती आयोजना समयमा नै सम्पन्न गर्नेगरी लाग्न मन्त्री र सचिवलाई विशेष निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्थले जानकारी दिए ।

देउवाले चालू आर्थिक वर्षको नीति योजना र कार्यक्रम तथा बजेटको कुशलतापूर्वक कार्यान्वयन गर्न विषयगत मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन पनि दिए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आफू सरकारमा आएपछि कोभिड महामारीको चपेटामा परेका सर्वसाधारण नागरिकलाई कोभिड भ्याक्सिन लगाउन सफल भएको बताए । प्रधानमन्त्री देउवाले मुलुकमा देखापरेका समस्या समाधान गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए ।

प्रधानमन्त्री देउवाले लामो समयपछि मन्त्री र सचिवसँग अन्तक्र्रिया गरेका हुन् । सो कार्यक्रममा बोल्दै मुख्य सचिव शंकरदास वैरागीले गत वर्ष अपेक्षा गरेअनुसार काम हुन नसकेकाले विगतका कमीकमजोरी हटाएर चालू आर्थिक वर्षमा उपलब्धिमूलक कार्य गर्नुपर्ने आवश्यकता औंल्याए ।

मुख्य सचिव वैरागीले सरकारका निकायबीच छिटै कार्यसम्पादन करार गर्ने गरी आवश्यक योजना तय गरिएको स्पष्ट पारे । मुख्य सचिव वैरागीले सरकारको नीति तथा योजना कार्यान्वयनमा सचिवको विशेष भूमिका रहने भएकाले सचिवहरू जिम्मेवारका साथ लाग्नुपर्ने आवश्यकता औंल्याए ।

सो कार्यक्रमममा विषयगत मन्त्रालयका तर्फबाट मन्त्री तथा सचिवले आ–आफ्नो मन्त्रालयले विगतमा गरेका कामकारबाही र चालू आर्थिक वर्षमा गर्ने कार्यबारे जानकारी गराएका थिए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot