Logo

सिट बाँडफाँट कार्यदल संयोजकमा सिटौला



काठमाडौं, साउन २४। सत्तारूढ पाँच दलीय गठबन्धनले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलको गृहकार्य सुरु गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो बसेको सिट बाँडफाँट कार्यदलको पहिलो बैठकले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको हो।

मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको भोलिपल्ट शुक्रबार बसेको पाँच दलका शीर्ष नेताको बैठकले सिट बाँडफाँटको खाका बनाउन कांग्रेसबाट तीन र अन्य दलबाट दुईरदुई नेतासहित कार्यदल गठन गरेको थियो।

कांग्रेस पूर्वमहामन्त्री सिटौलाका साथै महामन्त्री गगनकुमार थापा तथा सञ्चारमन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मा र नेता वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल सहभागी छन्।

जनता समाजवादी पार्टीबाट नेताद्वय रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमाल पुरी र आनन्द शर्मा सदस्य रहेको कार्यदल बैठकले संयोजकको टुंगो लगाउँदै पार्टीभित्र आन्तरिक छलफल गरेर बिहीबार पुनः बैठकमा सहमति गर्ने मन्त्री कार्कीले जानकारी दिए।

शीर्ष नेताहरूले साउनभित्र सिट बाँडफाँटको खाका तयार गर्दै भदौ पहिलो साता बस्ने शीर्ष नेताको बैठकले त्यसलाई अन्तिम रूप दिनेगरी काम गर्न कार्यदललाई निर्देशन दिएको थियो। तर प्रतिनिधिसभा प्रत्यक्षतर्फको १ सय ६५ तथा प्रदेशसभाको ३ सय ३० सिट बाँडफाँटको प्रस्ताव कार्यदलले साउन मसान्तभित्र तयार गर्दै भदौ पहिलो साता त्यसलाई अन्तिम रूप दिन कठिन हुने नेताहरूको बुझाइ छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot