Logo

राजमोले प्यूठानमा दाबी छाडेको हो ?



काठमाडौं, २४ साउन । राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले सत्ता गठबन्धनको कार्यदल सिट बाँडफाँटमा प्रवेश नगरेको बताएका छन् ।
“कार्यदलको प्रथम बैठकले नेपाली कांग्रेसका नेता कृष्ण सिटौला संयोजक तोक्दै सिट तालमेलमा के कस्ता आधार बनाउने भन्ने विषयमा प्रारम्भिक छलफल गरेको छ । सबैका तर्फबाट प्रतिगमनविरुद्धको संघर्षमा सहकार्य गरेका दलहरुमा तालमेलका विषयमा एकमना एकता छ भन्ने प्रस्तुत भयो । तर कुन पार्टीलाई कति सिट भन्ने विषयमा प्रवेश गरेनौं,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले भने ।
नेता शर्माले कार्यदलको बैठकमा सिटका विषयमा गठबन्धनका दलहरुमा आन्तरिक छलफल गर्ने सहमति भएको पनि बताए । उनले थपे, “हामी सिट बाँडफाँटको आधार मात्र नभएर संयुक्त चुनावी कार्यक्रमका विषयमा पनि छलफल गर्छौं । सिट बाँडफाँटका लागि गठबन्धनका दलहरुमा पनि आन्तरिक रुपमा छलफल गरेर साउन २६ गते अर्को बैठक बस्ने कुरा भएको छ । यसलाई हामी छिट्टै टुंग्याउने छौं । मुख्य कुरा हिजो सहज र हार्दिकतापूर्ण छलफल भएको छ । स्थानीय तहमा पार्टीभित्रै बेग्लाबेग्लै मत थिए । तर अहिले आन्तरिक रुपमा कहीँ कतै मतभेद छैन ।”
बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र लोसपालाई पनि गठबन्धनमा सामेल गरिन लागेको हो भन्ने पत्रकार धमलाको प्रश्नमा शर्माले भने, “यस्ता विषय पनि आएका छन् । तर यो कार्यदलको कार्यक्षेत्रमा पर्दैन । यो शीर्ष नेताहरुले टुंग्याउने विषय हो ।”
राजमोले प्यूठानमा दाबी छाडेको हो भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा उनले भने, “कसले कहाँ छाड्ने वा नछाड्ने भन्ने विषयमा हामी प्रवेशै गरेका छैनौं । गठबन्धनका आधारका कुरा नटुंगिँदै बागलुङ वा प्युठान छाड्ने कुरा कसरी आउँछ र ?”



प्रतिक्रिया दिनुहोस्

Screenshot