Logo

परराष्ट्र मन्त्रीले चीनसँग नाका खुलाउने विषयमा स्पष्ट कुरा राख्नुपर्छः पूर्व राजदूत



काठमाडौं, २४ साउन । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वराजदूत डा. वंशीधर मिश्रले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणलाई लिएर अनावश्यक आशंका गरिरहन आवश्यक नभएको बताएका छन् ।
“चीन हजार किलोमिटर सिमाना जोडिएको र हजारौं वर्षदेखिको मित्रता भएको देश हो । त्यो सम्बन्धलाई निरन्तरता दिँदा आशंका गर्नु आवश्यक छैन । छिमेकी देशसँगको भ्रमण आदानप्रदान नियमित हुनुपर्छ । चीनबाट भ्रमण भइरहनु, यताबाट नहुनु राम्रो देखिँदैनथ्यो । यसमाअन्यथा लिनु पर्दैन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. मिश्रले भने ।
चीनसँगको सीमा नाका बन्द भएको सात वर्ष भइसक्दा पनि खोल्ने विषयमा तपाईंहरु किन नबोल्नुभएको भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “तातोपानी लगायतका नाका कोभिडका कारण बन्द भएका हुन् । मलाई लाग्छ, यसबारे परराष्ट्र मन्त्रीले कुरा राख्नुहुन्छ ।”
उनले आफूहरु चीनबाट निर्देशित नभएको पनि दाबी गरे । डा. मिश्रले भने, “हामी भारतसँग तीनतिरबाट खुला छौं । लामो सिमाना छ । खुला यातायात छ । त्यसैले समस्या पनि धेरै छन् । चीन र भारत दुवै हाम्रा अनन्य मित्र हुन्, भारतबारे बोल्ने, चीनबारे नबोल्ने भन्ने कुरा छैन ।”
साथै उनले चीनसँग सीमा विवाद नभएको र भएमा समाधान गर्न खुला रहेको पनि औंल्याए । डा. मिश्रले थपे, “बीपी कोइरालाको पालामै चीनसँगको सीमा समस्या टुंगिएको हो । अहिले जुन सीमा विवादको विषय उठेको छ, त्यसमा खुला छलफल गर्नुपर्छ । चीन कुनै पनि संयन्त्र बनाएर हल गर्न तयार हुनेमा म विश्वस्त छु ।”
कम्युनिस्ट एकताका निम्ति चीनले दबाब दिइरहेको छ नि भन्ने अर्को प्रश्नमा डा. मिश्रले भने, “सिद्धान्त, नीति र विचार मिल्ने विश्वका कम्युनिस्ट पार्टीसँग नेपालका कम्युनिस्ट पार्टीले सम्बन्ध राख्नुलाई सामान्य मान्नुपर्छ । तपाईंहरु मिल्नुस् भनेर त भारतका कम्युनिस्ट पार्टीले पनि भनेका हुन्छन् । चीनले औपचारिक रुपमा वाम तालमेल गर भनेको छैन । दलहरु मिलून् भन्नु ठीकै पनि हो ।”
बीआरआईको ऋण सोचीविचारीकन लिन सकिने पनि उनले औंल्याए । डा. मिश्रले भने, “मुलुकको हितलाई सर्वोपरि राखेर नेपालले अनुदान र ऋण लिन सक्छ । तर चीन, भारत वा अमेरिकाले भनेको सबै कुरा मान्ने भन्ने कुरा हुँदैन । ऋण नलिईकन विकास हुँदैन । तिर्न नसक्ने गरी ऋण लिनुहुँदैन ।”
श्रीलंकाको आर्थिक संकटको कारक चीन फ्याक्टर नभएको पनि डा. मिश्रको जिकिर छ । उनले थपे, “श्रीलंकामा आर्थिक संकट चीनको बीआरआई ऋणको कारण होइन, श्रीलंकाको आफ्नै नीतिका कारण सिर्जित भएको हो । श्रीलंका बन्ने नबन्ने हाम्रो आफ्नै हातमा छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot