Logo

शक्ति पुरस्कार साहित्यकार विकल्पलाई



काठमाडौँ,२४ साउन । रणस्मृति पुरस्कार संस्था बागलुङले विसं २०७८ को ‘शक्ति पुरस्कार’ पर्वतका साहित्यकार इन्द्रकुमार ‘विकल्प’लाई प्रदान गर्ने भएको छ । सोमबार बसेको पुरस्कार छनोट समितिको बैठकले सो निर्णय गरेको संस्थाका अध्यक्ष काजी रोशनले जानकारी दिए ।

रु आठ हजार राशिसहितको उक्त पुरस्कार आउँदो भदौ ३ गते कृष्णाष्टमीका दिन आयोजना हुने समारोहमा समर्पण गरिने सो संस्थाले जनाएको छ । नेपाली भाषा, साहित्यको उन्नयनमा पु¥याएको योगदानबापत साहित्यकार विकल्पलाई पुरस्कृत गर्न लागिएको हो ।

पर्वत साहित्य सङ्गमका संस्थापक अध्यक्ष विकल्पका कविता सङ्ग्रह ‘सम्झनाका डोबहरु’, मुक्तक सङ्ग्रह ‘भुल्काहरु’, लघुकथा सङ्ग्रह ‘सर्वदलीय घर’लगायत करिब एक दर्जन कृति प्रकाशित छन् । उनले साहित्यिक पत्रिका ‘कालीको सुसेली’को सम्पादन पनि गर्दै आएका छन् ।

यसअघि सो पुरस्कारबाट पोखराका साहित्यकार तीर्थ श्रेष्ठ, तनहुँका अनिल श्रेष्ठ, भैरहवाका बालकृष्ण भट्टराई र स्याङ्जाका विश्वप्रेम अधिकारी पुरस्कृत भइसकेका छन्।

विसं २०५० मा स्थानीय समाजसेवी शक्तिबहादुर खड्काले बुबा रणबहादुरको स्मृतिमा उक्त पुरस्कार संस्था स्थापना गरेका थिए। संस्थाले विसं २०७४ देखि साहित्यतर्फ पुरस्कार दिन थालेको हो । रासस



प्रतिक्रिया दिनुहोस्