काठमाडौं, ४ भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि डा. बीरबंश बैठा (मानार्थ विद्यावाविरिधि) ले सर्लाही–२ बाट प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेद्धवारीको घोषणा गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेद्धवारी घोषणा गरेका हुन् । उनी सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ५ का स्थायी वासिन्दा हुन् । बैठा लामो समयदेखि शिक्षण पेशामा थिए ।
उनले यही भदौ १ गते शिक्षण पेशाबाट राजीनामा दिएका हुन् । उनले आफूले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डसमेत पाएको सुनाए । उनले नेपाल विश्वको तुलनामा सबै क्षेत्रमा धेरै पछि परेको र नेपालमा पनि मधेश अझै धेरै पछि परेको टिप्पणी गरे ।
उनले भने,‘मधेश प्रदेशको एउटा जिल्ला पनि पूर्ण साक्षार हुन सकेन । यो दुःखदायी कुरा हो । ४० वर्षअघि सुरुवात गरिएको हुलाकी राजमार्ग अहिलेपनि जस्ताको त्यस्तै छ । दाइजो प्रथा कायमै छ । महिला हिंसा उस्तै छ । विकास निर्माणको हालत पनि खराब छ।’
उनले ३० वर्षअघि नेपालमा प्रजातन्त्र आएको स्मरण गराउँदै त्यस कालदेखि आजको दिनसम्म देश र जनताले सुखानुभूति गर्न नपाएको गुनासो पोखे । उनले देशमा नेता नभएको पनि दाबी गरे । उनले भने,‘नेपालमा थर्ड क्लास पोलिटिसियन छन् । नेता भएको भए विमानस्थलमा दैनिक पाँच वटा लाश आउँदैन थियो । नेता त सिंगापुरमा छन् । हाम्रा नेताहरु भनाउँदासँग मिशन, भीजन र डेडिकेशन छैन् । दलमा स्थिरता छैन् । गठबन्धन अनि महागठबन्धन बनाउने, यस्तो पनि हुन्छ ? यस्तो अवस्थामा देशको विकास हुने सम्भावना छैन् ।’
उनले विद्यमान राजनीतिक दलमा आईडल र आईडोलोजी नभएको टिप्पणी गरे । उनले भने,‘त्यही भएर हामी मुर्खहरुबाट मात्रै होईन बेइमानबाट शासित भएका छौं । अब हामी स्वतन्त्र रुपमा लड्नुपर्छ । राजनीतिक चेतना नहुँदा देश र समाज पछि पारेको छ । अब समाजलाई गति प्रदान गर्नुपर्छ ।’ उनले आफ्नो उम्मेद्धवारी सर्लाही क्षेत्र नम्बर २ का जनताको आवाज भएको पनि बताए ।
उम्मेद्धवारीबारे प्रष्ट पार्दै उनले भनेका छन्–‘नेपालमा, विशेषगरि मधेशमा अन्यायमा परेकालाई न्याय दिलाउन, बेरोजगारीलाई रोजगार दिलाउन, भोकालाई खान दिन, नाँगालाई लुगा दिन, बसोबास नभएकालाई घर दिन, दशेमा उत्पादन बढाउन, देशमा विश्वसापेक्ष परिवर्तन ल्याउनको लागि मेरो उम्मेद्धवारी हो ।’ उनले गुणस्तरीय शिक्षाको सुनिश्चितता् गर्न र बाटोघाटो व्यवस्थित बनाउनको लागि पनि आफ्नो उम्मेद्धवारी भएको प्रष्ट्याए ।
बैठाले अहिले देशका सबै दल आपसी गुटबन्दी, आफन्तवाद, नातावाद, कृपावाद, धनवाद, मनवादलगायतबाट प्रभावित भएको टिप्पणी गरेका छन् । उनले आफ्नो उम्मेद्धवारीको अर्को मुख्य कारण भनेको देशमा सशक्तरुपमा काम गरी राजनीतिक नैतिकता स्थापित गराउनको लागि पनि भएको सुनाए ।
कार्यक्रममा मधेश नागरिक समाजका अध्यक्ष गणेश मण्डलले बैठालाई निर्वाचनमा सफलता मिलोस भन्ने शुभकामना दिएका छन् । सो अवसरमा उनले मधेशमा स्वतन्त्र उम्मेद्धवारी किन ? भन्नेबारे धारणा राखेका थिए । मण्डलले नेपाल आमाले देशलाई सही तवरले अघि बढाउनको लागि सक्षम, योग्य र इमानदार लाखौं लाख सपुत जन्माएको बताए । उनले भने,‘देशमा २०४६ को परिवर्तनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्यो । प्रजातान्त्रिक शक्तिले राम्रो गर्न सकेन भनेर पछि कम्युनिष्टको पनि सरकार बन्यो । नेपाल आमाले धेरै, लाखौं लाख सपुत जन्माएकी छिन्, जसले यो देशलाई राम्रोसँग अघि बढाउन सक्छन्।’
मण्डलले अहिलेका राजनीतिक दलले पूर्ण रुपमा जनचाहनाअनुसार डेलिभर दिन नसकेको आरोप लगाए । उनले भने,‘दलले राम्रो डेलिभरी दिन नसकेकोले नै अहिले स्वतन्त्रको माग छ । लोकतन्त्र भनेको प्रत्येक नागरिकको व्यक्तिगत स्वतन्त्रता हो । सदनमा सांसद स्वतन्त्र हुँदैनन् । यो देश बाहिर देशका विचौलियाहरुले खटाएको एजेण्टबाट बन्धक भएको छ। त्यसबाट मुक्ति दिलाउनको लागि स्वतन्त्र उम्मेद्धवारले जित्नुपर्छ । उहाँहरु आउनुपर्छ ।’
उनले १८ देखि ३२ वर्षका युवाहरु ३ प्रतिशतमात्रै दलमा संलग्न रहेको बाँकी स्वतन्त्र रहेको तथ्यांक पेश गरे । उनले थपे,‘अबको निर्वाचनमा ३२ वर्ष मुनिका भोटरहरु निर्णायक छन्, उनीहरुले आफ्नो विवेक प्रयोग गर्नुपर्छ ।’ उनले सर्लाहीको हकमा डनगिरी, ठेक्कापट्टा र लुटपाट गर्नेहरु दलका प्रतिनिधि भएर सदन र सरकारमा पुगेको गम्भीर आरोप लगाए । उनले भने,‘आज स्वतन्त्र उम्मेद्धवारी दिनुभएको बैठाले एउटा पनि गलत काम गरेको देखाईदिनुहोस, म च्यालेन्ज गर्छु । र, अर्को कुरा दलबाट उम्मेद्धवार हुनेको एउटा पनि राम्रो काम केही भेटिँदैन् । अब मधेशका जनताले सबै कुरा बुझिसकेका छन् । मधेशमा अब डनगिरी, लुटपाट गर्नेहरुको केही चल्दैन् ।’
उनले रौतहटको गौर घट्नामा २७ जनालाई विभत्स हत्या गरिएको घट्ना पनि स्मरण गराए । र, आजसम्म त्यो जघन्य अपराधको घट्नाका दोषीलाई कारबाही नभएको उनको गुनासो थियो । उनले भने,‘गौर घट्नको कुरा गर्दा, महिलाहरुलाई बलात्कार गरिएको थियो, उनीहरुको संवेदनशील अंगमा बाँसको लाठीले घोचिएको थियो, तर, राज्यले आज त्यही व्यक्तिलाई पक्षपोषण गरिरहेको छ । त्यसको विरोधमा पनि उहाँको उम्मेद्धवारी दियो ।’
कार्यक्रमको सञ्चालन भने डम्बर साहुले गरेका थिए । उनी स्वतन्त्र उम्मेद्धवारी अभियानका संयोजकको रुपमा कार्यरत छन् ।