Logo

१० राजनीतिक दल आबद्ध डि. एस. एले एउटै साझा चिन्ह ‘गितार’ लिएर चुनाव लड्ने, भदौ ७ गतेदेखि २३ गतेसम्मका चुनावी कार्यक्रम सार्वजनिक



काठमाडौं, ५ भदौ । विभिन्न १० दल आबद्ध डेमोक्रेटिक सोसलिस्ट एलायन्स (डि. एस. ए.) ले आगामी निर्वाचनमा गोलाकारभित्रको गीतार साझा चुनाव चिन्ह लिएर चुनाव लड्ने घोषणा गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ‘गीतार’ चिन्ह लिएर जाने जानकारी दिईएको हो ।

डिएसएका अध्यक्ष सिबी गहतराजको अध्यक्षतामा गत भदौ १ गते बसेको बैठकले साझा चुनाव चिन्ह गोलाकारभित्रको गितारलाई बनाउने निर्णय गरेको जनाईएको छ । डिएसएले संयुक्त कार्यक्रम र भेलाहरूको समेत आयोजना गरेको छ । आगामी भदौ ७ गतेदेखि प्रदेश १ बाट सुरु भई भदौ २३ गतेसम्म सुदूरपश्चिम प्रदेशमा समापन हुनेगरी प्रत्येक जिल्लाबाट कार्यकर्ता परिचालन गरी भेला गर्ने भएको छ ।

डिएसएमा आबद्ध दलहरुले साझा चुनाव चिन्ह गोलाकारभित्रको “गितार’’लाई आफ्नै पार्टी, दल वा मोर्चाको चुनाव चिन्हका रूपमा आफ्ना मतदाता, शुभेच्छुक, समर्थक तथा आम जनतामाझ व्यापक रूपमा चिनाउन र प्रचारप्रसार गर्न समेत आग्रह गरिएको छ । साथै, केन्द्रीय कार्यक्रमअन्तर्गत काठमाडौंको प्रज्ञा भवनमा गरिने कार्यक्रममा प्रत्येक प्रदेशबाट ब्यापक सहभागी गराउनले समेत निर्णय गरेको छ ।

अध्यक्ष गहतराजले अहिले देशमा गणतान्त्रिक व्यवस्था कायम भएपनि फोटोकपिको रुपमा मात्र काम भइरहेको बताएका छन् । उनले अहिलेको व्यवस्थाले राष्ट्रिय गणतन्त्रको अनुभुति जनतालाई गराउन नसकेको गुनासो पोखे । उनले संविधानमा धर्मनिरपेक्षता भन्ने शब्द उल्लेख भएपनि जनताले अनुभुति गर्न नसकेको टिप्पणी गरे । उनले संविधानतः देशमा समानुपातिक प्रणालीको संरचना बनेपनि त्यो वास्तविक रुपले कार्यान्वयन हुन नसकेको बताए ।

‘देशको अबस्था बिग्रिएको छ, अब निकास दिन डेमोक्रेटिक भित्रका पनि प्रगतिशिल विचार तथा समाजवाद र साम्यवादभित्रका प्रगतीशील, नैतिकवान विचार बोकेका समुहबीच एकता भएको छ। प्रगतिशिलहरुको उत्कृष्ट विचार बोक्ने नैतिकवान समूहहरु मिलाएर डिएसए निर्माण गरेका छौं । डिएसएmे राष्ट्रियता, स्वाधिनता र जनजीविकाको सवालमा कटिवद्ध भएर दुवै विचार राख्नेहरुको एउटै नयाँ फ्युजनको रुपमा अभ्यास गरिरहेको छ ।’

उनले डिएसए अब नेपालको विकासको लागि अपरिहार्य गठबन्धन भएको पनि बताए । उनले भने,‘यो अपरिहार्य गठबन्धन हो । यसले नै देशलाई निकास दिने अठोट गरेको छ ।’ उनले विभिन्न दल र मोर्चाहरुको समुहको एलाएन्स निर्माण गरेर ‘गितार’ चिन्ह बोकेर जनताबीचमा जाने निर्णय गरेको समेत जानकारी दिए ।

प्रवक्ता राजु कार्कीले डिएसएले आगामी दिनमा जनताको समस्या र गुनासा सुनेर त्यसको जवाफ दिने गरि जनतामाझ जान लागेको जानकारी दिए । १३ पार्टीबीच चुनावी एकता गर्दै गर्दा आफुहरुमाथि केही प्रश्न उब्जिरेको भन्दै उनले ती प्रश्नको खोजी अब डिएसएले गर्ने बताए । आगामी चुनावमा एउटै साझा चुनाव चिन्हमा जानेबारेमा कार्यान्वयनका लागि सम्बन्धित समन्वय समितिहरूलाई समेत उक्त परिपत्र गरिएको उनले जानकारी दिए । उनले गत भदौ ५ गते बसेको बैठकका निर्णयहरु वाचन गरेर सुनाएका थिए ।

डिएसएका सचिव मानबहादुर तामाङ्ले नेपाली जनता पछिल्लो समय ठुला राजनीतिक दलसँग आँत्तिएको बताए । आम जनताले दलको विकल्प खोजिरहेको उनको भनाई थियो । उनले अब जनताको विकल्पको रुपमा डिएसए उभिने भन्दै उनले कसै न कसैले विकल्प नदिए देश फासीबादमा जाने टिप्पणी गरे ।

नयाँ शक्तिहरु बनेर पुरानै शक्तिमा बिलय भएको भन्दै डेमोक्रेटिस र सोसलिस्टहरु दुई पक्ष मिलेर एउटा उदाहरण दिन खोजेको उनको भनाई थियो । सर्पले सधे काचुली फेर्ने तर विष नफेर्ने भन्दै उनले नयाँ राजनीतिक दलहरुले पनि सोही प्रक्रिया लागु गरेको उनले आरोप लगाए । उनले भने,‘नयाँ दल खोलेर पनि केहीले पुरानै ढाचामा काम गरिरहे र पुरानै गुण कहिल्यै फेरेनन् ।’

नेपाल दलित पार्टीका संस्थापक अध्यक्ष मेघबहादुर कामीले देशलाई नयाँ आयाम दिन र परिवर्तनशील देश निर्माणका लागि डिएसएको सुरुवात गरेको बताए । नेपाली जनताले सामाजिक, आर्थिकलगायतका धेरै पक्षमा परिवर्तनको आशा गरेपनि निराशामात्रै पाएको उनको भनाई थियो । उनले विभिन्न राजनीतिक दल आवद्ध भएको डिएससको स्थापना देशमा भएका भ्रष्टाचार, शोषण, विदेशी हस्तक्षेप, अन्यायको विरुद्ध भएको समेत दाबी गरे ।

सामाजिक एकता पार्टीका उपाध्यक्ष तुलसी प्रसाद श्रेष्ठले डिएसएले चुनावकेन्द्रि संयुक्त कार्यक्रम र भेलाहरूको आयोजना गरेको जानकारी दिए । सो अवसरमा भेला, बैठक, प्रशीक्षण, समन्वय समिति गठन, पत्रकार सम्मेलन, अन्तक्रिया कार्यक्रम गरिनेपनि जनाए ।

यही भदौ ७ र ८ गते १ नम्बर प्रदेश, भदौ ९ र १० गते मधेश प्रदेश, भदौ १२ र १३ गते बागमती प्रदेशको हेटौंडामा, भदौ १५ र १६ गते गण्डकी प्रदेशको पोखरामा, भदौ १७ र १८ गते लुम्बिनी प्रदेश, भदौ १९ र २० गते कर्णाली प्रदेशको सुर्खेत, भदौ २१ गते कोहलपुर, बाँके र भदौ २२ र २३ गते सुदूरपश्चिम प्रदेशमा भेला गर्ने पनि जनाईएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot