काठमाडौं, भदौ ७ । चार क्रान्तिकारी कम्युनिस्ट पाटीले गरेको नेपाल बन्दको असर राजधानीमा सामान्य देखिएको छ ।
तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महङ्गीका विरुद्ध गरिएको नेपाल बन्दको अवज्ञा गरिएको भन्दै राजधानीको कोटेश्वरमा एउटा गाडी तोडफोड गरिएको छ ।
बन्दकर्ताले महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेका हुन् । ढुङ्गा प्रहारबाट गाडीको अगाडीको सिसामा क्षति पुगेको छ ।
कोटेश्वरबाट बालकुमारी तर्फ जाँदै गरेको उक्त बसमाथि आज बिहान साढे ६ बजे ५ जनाको समूहले एक्कासि आएर राष्ट्रिय बाणिज्य बैंक अगाडि ढुङ्गा प्रहार गरी भागेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।