Logo

प्रचण्ड, माधव नेपाललाई वामपन्थी होइन, कांग्रेसपन्थी भन्नुपर्छः युवराज ज्ञवाली



काठमाडौं, १० भदौ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउन चाहनेहरुलाई वामपन्थी मान्न नसकिने बताएका छन् ।
“हाम्रो पार्टीमा वाम तालमेल गर्नुहुन्न भन्ने कोही छैन । तर हामीले कराएर मात्र केही हुनेवाला छैन । उनीहरु एमाले हराएर कांग्रेसलाई पहिलो बनाउन लागिरहेका छन् । कांग्रेससित मिलेर एमालेलाई हराउन लाग्नेलाई वामपन्थी भन्न सकिँदैन । प्रचण्ड, माधव नेपालहरु वामपन्थी होइन कांग्रेसपन्थी हो । उनीहरुलाई कांग्रेसले टिकट दिने हो । होइन, कांग्रेस हराउन लाग्ने हो भने त्यतिबेला सोच्न सकिन्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने ।
नेकपा एमाले आफैंमा निर्भर भएर एकल रुपमा लड्ने तयारीमा लागेको पनि ज्ञवालीको दाबी छ । उनले थपे, “नेकपा एमाले कमजोर भएको छैन । आन्तरिक एकता र सुदृढ गरेर पाँचै दल मिलेर आए पनि जित्ने तयारीमा लागेका छौं । अब हामीले १० लाख पार्टी सदस्यलाई कुदाउने दौडाउने हो । लाइक वा डिस्लाइकका आधारमा कसैलाई उम्मेदवार बनाउँदैनौं । कसैले प्रस्ताव गर्ने र ताली पड्काउने मात्र काम हुँदैन । बाहिर केपी ओलीले कसैलाई बोल्न दिनहुन्न भन्ने परेको छ । उहाँले नै कमिटीभित्र नडराईकन खुलस्त रुपमा बोल्नुस् भन्नुभएको छ ।”
राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको निर्देशनमा काम नगर्ने पनि उनले स्पष्ट पारे । ज्ञवालीले भने, “उहाँ हिजो एमालेका नेता हुनुहुन्थ्यो । पार्टीबाट राजीनामा दिएर राष्ट्रपति हुनुभएको छ । नागरिकता विधेयकमा उहाँ एमालेको विधान अनुसार होइन संविधानअनुसार चल्ने हो । उहाँले एमालेको निर्देशन पर्खेर बस्ने होइन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot