काठमाडौं, भदौ १६ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिने क्रम आज पनि जारी छ ।
समितिका सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माका अनुसार जबरालाई आज बिहान ११ बजे पुनः समितिमा बोलाइएको छ । समितिले जबरासँग बुधबार साढे ३ घण्टासम्म बयान लिएको थियो । समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको भए तापनि बुधबार ४ वटाको मात्र जवाफ लिन भ्याएको थियो ।
बुधबार बयान दिने क्रममा जबराले महाअभियोगको प्रस्ताव नै अवैध भएको दाबी गरेका थिए । प्रतिनिधिसभाको एउटा अधिवेशनमा महाअभियोग प्रस्ताव दर्ता भएको तर उक्त अधिवेशनले प्रस्तावको टुंगो नलगाएकाले महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसकेको उनको दाबी थियो ।
उनले महाअभियोग प्रस्तावलाई प्रतिनिधिसभा पुनस्र्थापना र नयाँ सरकार गठनसँग जोड्दै कारबाही गर्ने भए पाँचै जना न्यायाधीशमाथि गर्नुपर्ने जिकिर गर्दै आफूमाथि मात्र महाअभियोग प्रस्ताव दर्ता गर्नुको कारण पनि सोधेका थिए । वि सं २०७८ असार २८ गते प्रधानन्यायाधीश राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले २४ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो ।
बयान दिने क्रममा जबराले आफूभन्दा पछाडिका दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउनका लागि आफूमाथि महाअभियोग लगाइएको आरोप लगाएका थिए । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा राणाले ‘आफूमाथि लागेको महाभियोगबारे सफाइ दिने प्रयास गरेका छन् ।