Logo

मन्त्री श्रेष्ठको बयान : बायोमेट्रिक्स सकेर फर्किँदा पनि सुरक्षागार्डले मलाई घुरेर हेरिरहेको थियो (भिडिओसहित)



काठमाडौं, २१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले आफूलगायत सेवा लिन गएकालाई भिएफएसका सुरक्षागार्डले भेडाबाख्राजस्तो व्यवहार गरेको आरोप लगाएका छन् । उनले सुरक्षागार्ड शेरजंग गुरुङले सम्मानजनक व्यवहार नगरेको गुनासो पोखे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘त्यहाँ मानवीय व्यवहार भयो । मैले गाली गरेको पनि होईन । उसको व्यवहार देखेपछि मेरो सुरक्षामा खटिएका पिएसओलाई पनि मन्त्री सन्त्री म चिन्दिनँ भने ।’

आफूमाथि लगाईएका आरोप कपोकल्पित रहेको उनको भनाई थियो । उनले आफू र सुरक्षागार्डबीच कुनै भनाभन नभएको स्पष्ट पारे । उनले आफूले लाईनमा बसेर नै बायोमेट्रिक्स गरेको र सो काम सकेर फर्किँदा सुरक्षागार्ड गुरुङले आफूलाई घुरेर हेरेको स्मरण गराए ।

उनले भने,‘उसलाई त्यो बेलामा कुनै रियालाईजेशन थिएन । म लाईनमै बसेको छु । त्यहाँको जे रुल्स छ, त्यसलाई मैले फलो गरेको छु । म लाइनमा नबसेको कुरा आएको छ, त्यो निराधार हो ।’



प्रतिक्रिया दिनुहोस्