Logo

मोहन वैद्य नेतृत्वको पार्टीका असन्तुष्ट समूहद्वारा ‘क्रान्तिकारी मोर्चा नेपाल’ घोषणा



काठमाडौं, २४ भदौ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)पार्टी असन्तुष्ट समूहले नयाँ मोर्चा घोषणा गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर असन्तुष्ट समूहले ‘क्रान्तिकारी मोर्चा नेपाल’ घोषणा गरेको हो ।

नवगठित मोर्चाले आगामी मंसिरमा हुने संघीय र प्रदेशको निर्वाचनसमेत बहिष्कार गर्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका अध्यक्ष विष्णु खड्काले पार्टीभित्र आफुहरुले विद्रोह गरेर संयुक्त राजीनामा दिएर आज नयाँ मोर्चाको घोषणा गरेको जानकारी दिए । राजनीतिक पार्टी जनताको बीचमा जानुपर्छ भन्ने माग राखेपनि नेतृत्वले त्यसमा सुनुवाई नगरेको उनले स्पष्ट पारे । उनले भने,“हामीले क्रान्तिकारी शक्तिको रक्षा गर्नूपर्ने माग अघि सारेका थियौं । यदि साँच्चिकै क्रान्तिकारी पार्टी हो भने सिद्धान्त र व्यवहारमा तालमेल हुनैपर्छ । देखाउने दारा एउटा र चपाउने दारा अर्कोको रुपमा पार्टीको विकास भयो र लाइन छाडेपछि पार्टी परित्याग गर्यौं ।”

सोही पार्टीमा बसेर नेपाली जनताको हित र विकासको काम हुन नसक्ने आफूहरुे निश्कर्ष निकालेको र लगत्तै मोर्चा गठन गरेको उनको स्पष्टोक्ति थियो । उनले पार्टी क्रान्तिकारी मुद्दाहरु लागु नगरी दासहरु उत्पादन गर्ने भट्टीको रुपमा विकास भएकोसमेत आरोप लगाए ।

अध्यक्ष खड्काले वैद्य नेतृत्वको पार्टीभित्र स्वार्थका झुण्डहरुको गुट, नेतृत्वको गुलामी गर्नेको समूह, दलालीकरणको विकाससँगै क्रान्तिकारी आवरणमा प्रतिक्रान्तिकारीहरु हावी भएको समेत टिप्पणी गरे । उनले नेतृत्वमा संकिर्णवाद, जडसुत्रवाद, निम्न पुँजीवादी चिन्तन र दक्षिणपन्थी अवसरबाद हावी भएको पनि आरोप लगाए ।

अध्यक्ष खड्काले २०७८ चैत्र १३ गते ५ नं. प्रदेशबाट र गत साउन १६ गते ३ नं प्रदेश साथै देशैभरिबाट सामूहिक राजीनामा दिँदै औपचारिक रुपमा पार्टी परित्याग गरेको जनाए । खड्कालगायत केन्द्रीय सदस्य सुरेश वली, प्रदेश सदस्य धनवीर चौधरीलगायत सयौंको संख्यामा परित्याग गरी नयाँ मोर्चा निर्माणमा लागेको उनले दाबी गरे ।

उनले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने पनि बताए । देशमा अहिले भैरहेको व्यवस्थाले जनताको हित नहुने कुरा पुष्टि भइसकेको उनको दाबी थियो । उनले अहिलेको व्यवस्था हटाउनुपर्नेमा जोड दिँदै यही व्यवस्था रहेसम्म मोर्चाले संघर्षका कार्यक्रम ल्याउने चेतावनी दिए ।

कार्यक्रममा अभियन्ता डिबी लामिछाने, नेकपा केन्द्रीय सचिवालय सदस्य कृष्णहरी भट्टले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन भने गणेश घिमिरेले गरेका थिए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्