Logo

जसपा, लाेसपा र जनमत पार्टी मिल्ने हाे भने पुराना पार्टी पाखा लाग्छन्: मनीष सुमन



काठमाडौं, भदाै २५। जनता समाजवादी पार्टीका प्रवक्ता मनीष सुमनले आफ्नाे पार्टी ३२ सिटमा लड्ने तयारी गरिरहेकाे बताएका छन्।

‘व्यावहारिक हिसाबले ३२ सिट नभईकन हाम्राे नेता व्यवस्थापन हुन सक्दैन।गठबन्धन पनि कायम हुन सक्छ। अन्यथा हामी एक्लै जानुपर्ने हुन सक्छ,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ सँग पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले भने।

प्रवक्ता सुमनले आफ्नाे पार्टी गठबन्धन ताेडेर जाने पक्षमा नरहेकाे पनि स्पष्ट पारे। उनले थपे, ‘हामी गठबन्धनकाे जनक हाैं। गठबन्धनप्रति ममत्व छ। गठबन्धन ताेड्ने पक्षमा छैनाैं।’

एमाले अध्यक्ष केपी शर्मा ओली र उपेन्द्र यादवबीच कुराकानी किन त भन्ने पत्रकार धमलाकाे प्रश्नमा सुमनले भने, ‘हामी अन्तरपार्टी सम्बन्ध सुधार्नुपर्छ भन्ने पक्षमा छाैं। ओलीसँग चिया नखाने, मुख नहेर्ने, भेटै नगर्ने कसम खाएका छैनाैं। कुराकानी सबैसँग हुन्छ।’

साथै उनले ठूलाे पार्टीकाे दम्भ राखिरहे जसपा, लाेसपा र जनमत पार्टी मिलेर पुराना पार्टीलाई मधेस प्रदेशमा पाखा लगाइने चेतावनी पनि दिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot