Logo

लीले के ओली र प्रचण्डलाई एकसाथ भेट्लान्



काठमाडौं, २७ भाद्र । चीनका तेस्रा शक्तिशाली नेता ली चान्सुको नेपाल भ्रमण सुरु भएको छ । नेपालमा आमनिर्वाचन आउन दुई महिना बाँकी रहँदा ली जम्बो टोलीसहित भ्रमणमा आएका छन् ।

लीको भ्रमणमा धेरैका लागि चासो बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेट हो । उनले मङ्गलबार विहान ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् । पहिले ओली त्यसपछि प्रचण्डसँग भेटको कार्यक्रम तय छ ।

ओली र प्रचण्डलाई आलोपालो भेटेर दुवै नेता सँगै लीको भेट हुने हो या होइन ? चासो बनेको छ । उनको महत्वपूर्ण भेटहरु सबै मङ्गलबारका लागि तय छ । बुधबार राष्ट्रपति विद्यादेवीसँगको भेटमात्र खुलाइएको छ । उक्त दिन उनले बाँकी भेट तथा कार्यक्रमहरु पनि राखेको बुझिएको छ ।

विशेषगरी, लीसहितको टोली नेपालमा कम्युनिस्ट पार्टीहरुबीच समन्वय र तालमेलको पक्षमा माहोल तयार गर्न सक्रिय हुने चर्चा छ । त्यसका लागि चीनबाटै नेपालका नेताहरुसँग सुमधुर सम्बन्ध रहेका नेताहरु पनि आएका छन् । उनीहरुको भूमिका त्यसतर्फ केन्द्रित हुनसक्नेबारे चासो छ ।

विगतमा ओली र प्रचण्डलाई मिलाउन चिनियाँ टोली नेपाल आएको थियो । तर, उक्त टोली सफल भएन । यसपटक पनि लीसहितको टोलीले प्रयास गर्न सक्छ । तर, ओली र प्रचण्ड मिलाउन सजिलो भने छैन । त्यो असम्भव भने होइन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot