Logo

गठबन्धनभित्रै ‘थर्ड पोल’ बनाउने माधव नेपालको तयारी, प्रचण्ड कांग्रेससँगै मिलेर जानुपर्ने अडानमा



काठमाडौं, २८ भदौ । सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय सकस बनेको छ । पछिल्लो समय गठबन्धनमा आवद्ध दलले सिटमा आ–आफ्नो दाबी राखेका छन् । कतिपय सिटमा दुई भन्दा बढि दलको पनि दाबी रहेकोले सिट बाँडफाँटमा सहमति नजुटेको नेताहरुको भनाई छ । तर, गठबन्धनभित्रै माधव नेपालले अर्को मिनि–गठबन्धन बनाएर जानुपर्नेगरि गृहकार्य थालेका छन् ।

उनले माओवादी केन्द्र, आफ्नो दल र जनता समाजवादी पार्टी मिलेर जानुपर्नेगरि गृहकार्य थालेका छन् । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने गठबन्धनभित्रै अर्को गठबन्धन बनाउनु राम्रो नहुने भन्दै कांग्रेससहित मिलेर जानुपर्ने धारणा राखेका छन् । माधव नेपालले भने स्वस्थ प्रतिष्पर्धा गर्नेगरि अर्को गठबन्धन बनाएर जान सकिने प्रस्ताव राखेका छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ सिटमा कांग्रेसले १०० सिटमा दाबी गरेको छ। तर, सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भने गठबन्धन सहमतिका साथ अघि बढ्नुपर्ने भन्दै यसको लागि आफ्नो पार्टीले ९० सिटमा सहमति जनाउने विश्वास दिलाएका छन् । कांग्रेसको केन्द्रीय कार्यसमितिले नै एकल बहुमत आउनेगरि सिटको बाँडफाँट गर्नुपर्ने निर्णय गरेको छ ।

सोहीअनुसार नेताहरुले १०० सिटको दाबी नछोड्ने अडान लिएका छन् । माधव नेपाल पछिल्लो समय कांग्रेस नेताहरुको भूमिकालाई लिएर आक्रोशित बनेका छन् । उनले आफ्नो दल आवश्यक परे गठबन्धन छोडेर एक्लै पनि निर्वाचन लड्न तयार रहेको सन्देश देउवा र प्रचण्डलाई दिईसकेका छन् । तर, कांग्रेस र माओवादीका शीर्ष नेताहरुले भने माधव नेपालले हैसियतभन्दा बढि नै भाग खोजेकोले सिट बाँडफाँटको टुँगो नलागेको आरोप लगाउने गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्