Logo

ललितपुरमा जितेको सिट नछाड्ने माओवादी र एसको अडान, उदय राणा मात्र ढुक्क



काठमाडौं, २९ भाद्र । ललितपुरमा तीनवटा क्षेत्रमा सत्ता गठबन्धनका तीनवटा दलले साझा उम्मेदवार उठाउने निश्चित भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले आफूले जितेको सिट नछाड्ने अडान कसेपछि तीन दलले तीनवटा सिटमा प्रतिनिधि सभातर्फ उम्मेदवार उठाउने निश्चितप्रायः भएको हो ।

क्षेत्र नम्बर १ मा एमालेका नवराज सिलवालले चुनाव जितेका थिए । उनी एमालेबाट नाम सिफारिशमा परेका छन् । उक्त क्षेत्रमा उदय शमशेर राणाको गठबन्धनबाट दाबी छ । काँग्रेस केन्द्रीय सदस्य राणा नै गठबन्धनको साझा उम्मेदवार बन्ने निश्चित भएको छ । प्रदेशको २ क्षेत्रमा काँग्रेस र माओवादी केन्द्रले पाउने भएका छन् ।

ललितपुर क्षेत्र नम्बर २ मा एमालेबाट चुनाव जितेका कृष्णलाल महर्जन नेकपा एसमा गएका छन् । उक्त क्षेत्र नेकपा एसले नछाड्ने भएको छ । एसबाट सांसद महर्जन र प्रदेश सभा सांसद माधव पौडेलको दाबी छ । महर्जन चुनाव नउठ्ने सोचमा रहेको बुझिएको छ । तर, अन्तमा उनलाई नै माधव नेपालले उठाउने बुझिएको छ । माधव पौडेलको पनि प्रयास छ । ललितपुरको दुईवटा प्रदेशमध्ये एउटामा काँग्रेस उम्मेदवार उठ्ने निश्चित छ । बाँकी सिटमा काँग्रेस या नेकपा एसमध्ये एकले पाउने सम्भावना छ ।

नेकपा एसले ललितपुर २ नछाडे चन्द्र महर्जन र रामकृष्ण चित्रकारको व्यवस्थापन कठिन हुने देखिएको छ । महर्जन र चित्रकार दुवै उम्मेदवारको दौडमा छन् ।

ललितपुर क्षेत्र नम्बर ३ मा वर्तमान सांसद समेत रहेकी ऊर्जामन्त्री पम्फा भुसालको दाबी छ । भुसालले नछाड्ने भएपछि काँग्रेस केन्द्रीय सदस्यहरु मदनबहादुर अमात्य र जीतजङ्ग बस्नेत अप्ठ्यारोमा परेका छन् । दुवैको व्यवस्थापन काँग्रेसका लागि कठिन भएको छ । दुवैलाई प्रदेशमा व्यवस्थापन गर्नेबारे छलफल बढाइएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot