Logo

गेसोको नयाँ नेतृत्वमा पुनः गुरुङ, नेपालबाट बृटिश सैनिक क्याम्प हटाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र बनाउने लक्ष्य



काठमाडौं, ३ असोज । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को सभापतिमा पुनः पदमबहादुर गुरुङ चयन भएका छन् । आज (सोमवार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरेर गेसोले यसबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सभापति गुरुङले नेपाल भूमिबाट बृटिश सैनिक क्याम्प हटाई कलंकरहित सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपाल बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् । देशको विकास गरेर सम्पन्न र समृद्ध नेपाल निर्माणको बाटो देखाइरहने आफ्नो नेतृत्वको पहिलो काम हुने उनले स्पष्ट पारे । उनले भने– ‘भोलिका सन्तानहरूलाई कसैसँग नझुकी दूई विशाल छिमेकी राष्ट्रको बीचमा गतिशील मार्गमा अग्रसर हुँदै देश विकास गरेर सम्पन्न र समृद्ध नेपाल निर्माणको बाटो देखाइराख्ने मेरो नेतृत्वको पहिलो काम हुनेछ ।’

साथै, उनले नेपाल र बृटिशका शासकको मिलेमतोमा नेपाल तथा नेपाली जनतामाथि गरेका जघन्य अपराधका राजनीतिक षड्यन्त्रलाई जनसमक्ष सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।गुरुङले विदेशमा अकालमा मारिएर भौंतारिएका हजारौको आत्मालाई शान्ति दिलाएर बृटिश साम्राज्यवादीको चंगुलबाट मुक्ति दिलाउने महान् अभियानमा सबै राष्ट्रवादी शक्ति एकजुट हुनका लागि समेत सबैलाई आग्रह गरे ।

तत्कालीन श्री ३ राणा शासकहरूले भारतीय भूमिमा शासन गरिरहेको अंग्रेजलाई खुसी बनाउन र आफू सत्तामा रहिरहन सुगौली सन्धि गरी नेपालको एक तिहाई भूभाग भारतमा गाभिदिएको गेसोले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘नेपालको भूमिमा बृटिश सैनिक शासक बसेर नेपाली नागरिकलाई भारतीय सेना, बृटिश सेना, सिंगापुर र ब्रुनाई गरी एउटै राष्ट्रका नागरिक, एउटै बाबुआमाका छोरालाई चार राष्ट्रको सैनिकजस्तो युद्ध लड्ने पेशामा विभाजन गरिदियो ।’ विज्ञप्तिमा लेखिएको छ– ‘भारतीय सेनाका नेपालीले भारतीय सार्वभौमसत्ताप्रति वफादार रहेर सेवा गर्नेछु भनी कसम खाने, बृटिश सेनाका नेपालीले बृटिशको सार्वभौमसत्ताप्रति वफादार रहेर सेवा गर्नेछु भनी कसम खाने यसैगरी सिंगापुर र बु्रनाईका नेपालीले पनि कसम खाएर नेपाललाई विश्वको विचित्रको देश बनाइदियो ।’

गेसोको मूल उद्देश्य विश्वसामु बृटिश सेनाका नेपालीलाई अवैध प्रमाणित गरेर क्षतिपूर्तिसहित नेपाललाई बृटिशबाट मुक्ति दिलाउनु रहेको छ । यतिमात्र गर्न सकेमा पनि नेपाललाई फसाउन खनेको खाल्डोमा बृटिशलाई फसाएर, नेपालीहरूले अहिलेसम्म गुमाएको इज्जत र प्रतिष्ठालाई फर्काएर सार्वभौम राष्ट्रको स्वाभिमानी नेपाली नागरिक बन्ने गेसोको ठहर छ ।

गेसोले विश्वलाई पाठ सिकाउने बेलायती प्रधानमन्त्रीको कार्यालयअगाडि प्रथम नेपाली महिला पुष्पा घले, ज्ञानराज राई र धनबहादुर गुरुङले १३ दिनसम्म भोक हड्ताल बसेर बृटिशको मानवअधिकार विश्वसामु छर्लङ्ग पारिदिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot