Logo

हेमविक्रम सिलवालद्वारा काठमाडौं–२ बाट चुनाव लड्ने घोषणा (भिडिओसहित)



काठमाडौं, १५ असोज । स्वतन्त्र नागरिक समाजका संयोजक हेम विक्रम सिलवालले काठमाडौं–२ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि उनले सो क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

रिपोर्टर्स क्लब नेपालमा आज (शनिबार) पत्रकार सम्मेलन गर्दै उनले आफूले ३० हजारभन्दा बढि मत ल्याएर जित हाँसिल गर्ने पनि दाबी गरेका छन् । उनले राजसंस्था भनेको नेपालको स्थायित्व भएकोले आफूले सो संस्थाको वकालत गरेको सुनाए ।

नेपाल पश्चिमाहरुसँग क्रिडास्थल बन्न खोजेको उनको आरोप छ । उनले आफूले बोलेको कुरा पूरा गर्ने पनि प्रतिबद्धता जनाए । नेपालको न्यायपालिकामा अहिले राजनीतिक हस्तक्षेप भएको उनको गुनासो छ । उनले प्रधानन्यायाधीशलाई नजरबन्द गरिएको भन्दै यही हो लोकतन्त्र भन्दै प्रश्न गरे । उनले आफूहरुको एजेण्डालाई स्थापित गर्नको लागि निर्वाचन उपयोग गर्ने पक्षमा पुगेको सुनाए ।

सिलवालले काठमाडौंमा किन मेलम्ची किन आएन ? भनेर आफूले सदनमा कुरा उठाउने पनि सुनाए । उनले आफू देश बाँच्छ भने कुरबानी दिन पनि तयार रहेको बताए । उनले अहिले देशका लाखौं युवाहरु श्रमको लागि विदेशिनु परेको गुनासो पोखे । उनले देश मागेर कहिल्यैपनि धनी नहुने बताए ।

कार्यक्रममा स्वतन्त्र नागरिक समाजका सदस्य रामकुमार रिजालले पनि काठमाडौं–९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । सो अवसरमा उनलाई बरिष्ठ पत्रकार प्रेम कैदी, समाजसेवी सरस्वती रिजाललगायतले शुभकामना दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot