Logo

दल र गठबन्धन अदलबदलले नेपाली राजनीतिमा चमत्कारिक घटना विकास हुँदै



काठमाडौं, २१ असोज । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गर्ने दिनको अघिल्लो रातिसम्म चमत्कारिक राजनीतिक घटना विकास हुने संकेत देखिएको छ । सत्ता गठबन्धन फुट्न लागेको छ । अर्कोतर्फ, एक्लै चुनाव लड्ने प्रचार गर्दै आएको नेकपा एमाले गठबन्धन बनाएर जाने गरी बढेको छ ।

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी अलग हुन लागेको छ । उसले दाबी गरेको सिट नपाएपछि बार्गेनिङ्ग गरेको छ । कम्तिमा २० सिट नपाए जसपा अलग हुनेछ । अर्कोतर्फ, लोकतान्त्रिक समाजवादी पार्टी पनि एमालेसँगको गठबन्धनमा जाने भन्दै आएको छ ।

जसपा एमालेसँग गठबन्धनमा गएमा लोसपा नेपाली काँग्रेससहितको गठबन्धनमा जाने सम्भावना बढेको छ । जसपाले पाउने सिट लोसपालाई दिएर मनाउन गठबन्धनका नेताहरु भित्री तयारीमा रहेका छन् ।

जसपा र लोसपा दुवै एमालेसँगको गठबन्धनमा गएका नयाँ घटना विकास हुनसक्छ । यसबाट मधेश केन्द्रित मानिएका नेताहरु फेरि एक हुने परिस्थिति बन्छ । जसका कारण काँग्रेससहितको गठबन्धन मधेशमा कमजोर हुनसक्छ ।

पछिल्लो समय दलहरुको अदलबदलको सम्भावना बढेको छ । सांसद भइसकेका र प्रभावशाली नेताहरुको दल अदलबदल पनि चलिरहेको छ । यतिबेला राजनीतिक सिद्धान्त भन्दा पनि चुनाव जित्ने रणनीतिमा जो जहाँ पनि मिल्न सक्ने गरी बढेका छन् । यसले राजनीतिमा ठूलै चमत्कारिक घटनाहरु विकास हुँदै गएको छ । दलका विद्रोही र स्वतन्त्र उम्मेदवारहरु देखापर्न थालेका छन् । यसले दलका माथिल्लो तहका नेताहरुले ठूलै धक्का पाउने सम्भावना बढेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot