Logo

सर्लाहीमा पार्टीबाट विद्रोह गरेर स्वतन्त्र चुनाव लड्नेको संख्या बढि, अमरेशले गरे प्यानल खडा



बखतियार अलि, सर्लाही २६ असोज । दलीय सहमतिको आधारमा टिकट वितरण गरेका सत्तारूढ गठबन्धन दल र बिपक्षी गठबन्धन दलका केही नेताले टिकट नपाएपछि पार्टी भित्रबाटै विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । त्यसरी स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा नेपाली काँग्रेसका नेता तथा निवर्तमान सांसद डा. अमरेशकुमार सिंह र एमालेका नेता मानबहादुर खड्का रहेका छन् । डा. सिंहले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्यानल बनाएर स्वतन्त्र उम्मेदवारी दर्ता गराका छन् ।

उता, एमालेका नेता मानबहादुर खड्काले पनि सर्लाही क्षेत्र नम्बर १ बाट प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । सिंहले टिकट दाबी गरेको क्षेत्रबाट नेपाली काँग्रेसले पूर्वसभापति नागेन्द्र कुमार रायलाई टिकट दिएपछि उनले काँग्रेसबाट बिद्रोह गरेर प्रतिनिधिसभा सदस्यको लागि प्यानल बनाएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

सिंहले अनिता देवी यादव र प्रीतम कुमारलाई प्रदेश सभा सदस्यीयको उम्मेदवार बनाएका छन्। आफुले लामो समयसम्म नेपाली काँग्रेसको लागी जीवन समर्पित गर्दा समेत पार्टीलाई पैसा बुझाउन नमानेको कारण टिकट नपाएको सिंहको आरोप छ ।

सर्लाही क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यीयको लागि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को तर्फबाट टिकट पाएका उम्मेदवार रामचन्द्र सिंह कुशवाहाले पनि पार्टीभित्र बिद्रोह गर्दै नेकपा एमालेका स्वतन्त्र बागी उम्मेदवार खड्काको पक्षमा उभिएका छन्।

त्यस क्षेत्रमा प्रदेश सभा सदस्यका लागि गठबन्धन दलको सिफारिसमा अर्को उम्मेदवार लोसपाका प्रदेश सभा सदस्य उपेन्द्र महतोले टिकट पाएपछि कुशवाहा स्वतन्त्रको पक्षमा उभिएका हुन् । गठबन्धनले कुशवाहा र महतोलाई मित्रवत् प्रतिस्पर्धा गर्ने सहमतिमा टिकट दिएको छ।

त्यसैगरी प्रदेश (ख) बाट सत्तारुढ गठबन्धन दलकै एकीकृत समाजवादी पार्टीले बेच्ची लुङ्गेलीलाई टिकट दिएपछि माओवादीका राजन कुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन््। पार्टीभित्र टिकट लिने आकाङ्क्षी उम्मेदवार धेरै भएपछि गठबन्धन दलले सिट भागबन्डा मिलाउन नसक्दा पार्टीभित्र बिद्रोह गररे स्वतन्त्र उम्मेदवारी दर्ता गराउने बढेका हुन।

सर्लाही १ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ , संविधानसभा सदस्य रामचन्द्र चौधरी र नेकपा एमालेको तर्फबाट मानबहादुर खड्काले आकांक्षा राखेका थिए ।

एमालेले जसपाका नेता प्रमोद साहलाई टिकट दिएपछि खड्काले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पार्टीले स्थानीय जनताको भावनालाई नबुझेर टिकट वितरण गरेकाले पार्टीबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएको खड्काको भनाइ छ ।

आफुलाई नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ ,माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकी, नेकपा एमालेका नेता रेवती पन्त , इश्वरपुर नगरपालिका पूवमेयर मनोज देवकोटालगायत धेरै नेता र जनताको साथ समर्थन रहेको दाबी गरे ।

सत्तारूढ गठबन्धन दलले लोसपाका नेता रामप्रकाश चौधरीलाई टिकट दिएको छ भने बिपक्षी गठबन्धनले जसपाका नेता तथा निवर्तमान संसद प्रमोद साहलाई टिकट दिएको छ। त्यसैगरी सर्लाही क्षेत्र नम्बर ३ (क) मा पनि असन्तुष्टि जनाउँदै नेकपा माओवादी केन्द्रको तर्फबाट जवहारलाल कुशवाहाले प्रदेशसभा सदस्यीयका लागि उम्मेदवारी दर्ता गराएका छन्।

सत्तारूढ गठबन्धन दलले एकीकृत समाजवादीका डिल्ली उप्रेतीले टिकट पाएपछि कुशवाहले असन्तुष्टि जनाउँदै उम्मेदवारी दर्ता गराएका हुन। उनी नेपाली काँग्रेसको प्रदेश सभापति परित्याग गरि केही महिना अघिमात्र माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot