Logo

‘ओली प्रचण्डलाई सिध्याउने एक मात्र मिसनमा हुनुहुन्छ’



काठमाडौं, १४ कात्तिक । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान सत्ता गठबन्धन लामो समय रहने दाबी गरेका छन् । ‘गिरिजाबाबु र मेरो सम्बन्धले देशलाई नयाँ ठाउँमा लग्यो । दायाँतिर उहाँ र बायाँतिर म बसेर गरेको विस्तृत शान्ति सम्झौता भयो । म उहाँलाई अभिभावकका रुपमा लिन्थें । अन्तिम अवस्थामा पनि उहाँले देश र परिवर्तनको रक्षा गर्नुस् भन्नुभएको थियो । भूमिगतकालमा मैले पहिलो शान्ति वार्ता शेरबहादुरजीसँगै गरेको हुँ । उहाँसँग गिरिजाबाबुको जस्तै सम्बन्ध छ । प्रतिगमनको खतरा र जनताको अधिकार खोस्ने षडयन्त्र रहँदासम्म गठबन्धन कायम रहन्छ ।’

‘देउवासँग आलोपालोको सहमति भएको छैन’

प्रधानमन्त्रीका निम्ति झगडा होला नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘मलाई कांग्रेसले २०७४ मै लिखित रुपमा पाँच वर्ष प्रधानमन्त्री दिने कुरा गरेको थियो । तर मैले केपी ओलीलाई प्रधानमन्त्री बनाएँ । केपी ओलीको गलत कदमका विरुद्ध गठबन्धन गर्नुपर्छ भनेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएँ । प्रधानमन्त्रीको रेस मेरा लागि ठूलो कुरा होइन ।’

शेरबहादुर देउवा र आफूबीच आलोपालो प्रधानमन्त्री हुने सहमति नभएको पनि प्रचण्डले बताए । उनले थपे, ‘आलोपालोबारे लिखित कुरा भएको छैन । तर अवसर आए पछि पर्दिनँ । सुशासन र विकासको महाभियानका निम्ति नेतृत्व गर्न तयार छु ।’

नेकपा एमाले र केपी ओलीसँग भने सहकार्यको सम्भावना नभएको उनले बताए । प्रचण्डले भने, ‘एमालेसँग मिलेर सरकार बनाउने सम्भावना छैन । केपी ओली अत्यन्त अहंकारी, प्रतिशोधी तर उखान टुक्का भनेर कार्यकर्तालाई हँसाउन सिपालु हुनुहुन्छ । उहाँसँग गहिरो भिजन छैन । उहाँ प्रचण्डलाई के गरी सिध्याउने भन्ने एक मात्र मिसनमा हुनुहुन्छ ।’

केपी ओलीले संघीय लोकतान्त्रिक गाणतन्त्र नै स्वीकार नगरेको उनले आरोप लगाए । प्रचण्डले भने, ‘गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता रहुन्जेल प्रचण्ड रहिरहन्छ भन्ने ओलीको भित्री बुझाइ छ । त्यसैले दुईदुई पटक संसद् विघटन गर्नुभयो । त्यसैले त राजावादी, अलगाववादी छन् उहाँको गठबन्धनमा ।’

स्वतन्त्रका नाममा दल, नेता र परिवर्तनप्रति वितृष्णा पैदा गर्न खोजिएको आरोप पनि उनले लगाए । प्रचण्डले भने, ‘उनीहरुले प्रचार गरेको कुरा झूटो हो । यथार्थ बिलकुल फरक छ । जनता र नेताको सम्बन्ध चिसिएको छैन । पुरानो नेता काम लाग्दैनन् भन्ने कुरा स्थानीय तह निर्वाचनले अनुमोदन गरेन । जनताले दल र नेतालाई नै विश्वास गरेका छन् । म ६८ वर्षको भएँ । कुरा बूढा र ठिटाको कुरा होइन, मिसन र भिजनको हो । चुनावलाई त्रुटि सच्चाउने अवसरका रुपमा चुनावलाई लिनुपर्छ ।’

चुनावपछि बाबुराम भट्टराईसँग एउटै पार्टीमा रहन चाहेको पनि प्रचण्डले बताए । उनले भने, ‘बाबुरामजीको प्रस्तावमै म गोरखा आएको हुँ । तर एउटै पार्टी बनाउने भन्ने कुनै लिखित सम्झौता गरेको छैन । हामी विभाजित हुँदा आन्दोलन र मुलुकलाई क्षति भयो । त्यसैले एउटै पार्टीमा रहने तयारीमा छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot