Logo

एमाले सरकार किन टिकेन ? केपी ओलीले सुनाए कारण



काठमाडौं, १६ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जसरी हुन्छ एमाले छोडेर, तोडेर जान चाहनेहरूका कारण सरकार टिकाउन नसकिएको बताएका छन् । पार्टीको निर्वाचन घोषणा पत्र सार्वजनिक गर्न हिजो (मंगलबार) आयोजित कार्यक्रममा दुईतिहाई बहुमतको सरकार नटिकेको भनी भ्रम सिर्जना गर्ने प्रयास भइरहेकोे सन्दर्भमा स्पष्ट गर्दै अध्यक्ष ओलीले २०७४ को निर्वाचनमा नेकपा (एमाले) लाई बहुमत प्राप्त भएको थिएन भन्ने कुरामा स्पष्ट हुन आग्रह गरेका हुन् ।

उनले भने,‘नेकपा (एमाले) प्रतिनिधि सभाका २७५ सिट मध्ये १२१ सिटमा मात्र विजयी भएको थियो, सरकार गठनका लागि १३८ चाहिन्थ्यो । एमालेसँग बहुमत थिएन ।’ ‘निर्वाचनमा माओवादी केन्द्रसँग संयुक्त घोषणापत्रमा मिलेर लडे पनि निर्वाचनपछि सरकार गठन गर्ने कुरामा माओवादीले अरुसित कुरा गर्न थाल्यो । निर्वाचन आयोगले निर्वाचन परिणाम नै समयमा राष्ट्रपतिकहाँ पठाएन । मंसिर ४ गते निर्वाचन सम्पन्न भए पनि प्रधानमन्त्री नियुक्ति नै फागुन ३ गते पुुग्यो ।’ चर्चा गर्दै अध्यक्ष ओलीले सरकार गठनपछि पनि नियोजित रुपमा सरकारका काममा हरदम अवरोध भएपछि सरकार टिकाउन नसकिएको स्पष्ट गरे ।

उनले एमालेलाई कमजोर पार्ने तत्व बाहिरिएकाले आगामी निर्वाचनमा पाँचबर्ष सरकार सञ्चालन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाँक्षा पूरा गर्नका लागि एमालेलाई विजयी बनाउन आग्रह गरे । उनले अहिले देशको सबैभन्दा ठूलो पार्टी एमाले रहेको र निर्वाचनमा बहुमत स्थानमा विजय प्राप्त गर्ने सामर्थ्य र सम्भावना भएको पार्टी पनि एमाले मात्र भएकाले राजनीतिक स्थायित्व र विकासका लागि ५१ प्रतिशत मत दिई विजयी बनाउन आग्रह गरे ।

उनले अन्य कुनै पनि दलले बहुमत ल्याउन नसक्ने बताए । अध्यक्ष ओलीले भने,‘अन्य दलले बहुमत ल्याउने कुरा विल्कुलै असम्भव छ ।’ नेकपा (एमाले) ले देश विकासको मिसन अगाडि सारेकाले एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको वताउँदै अध्यक्ष ओलीले पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने एउटा आधार यो पनि हो भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot