Logo

भारत ठूलो देश भएकाले सानो चित्त गर्न सुहाउँदैन्ः ओली



काठमाडौं, कात्तिक १९। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरपछि एमालेको सरकार बन्ने र त्यही सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने उद्घोष गरेका छन् ।

एमालेद्वारा आयोजित पहिलो चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार दार्चुला सदरमुकाम खलंगा पुगेका ओलीले नेपालले आफ्नो एक इन्च भूभाग पनि कसैलाई नछोड्ने बताएर भारतीय पक्षलाई सचेत पारेका छन् ।

उनले भारत ठूलो देश भएकाले सानो चित्त गर्न नसुहाउने स्पष्ट पार्दै नेपालको कुनै पनि भूभाग कसैलाई छाड्न नसकिने स्पष्ट पारे । दार्चुलाबाट एमालेको देशव्यापी चुनावी अभियान शुभारम्भ गरेका ओलीले शुक्रबार नै बैतडीको पाटन र कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई समेत सम्बोधन गरे ।

एमाले अध्यक्ष ओलीले राष्ट्रियताको सवालमा नेपालले एक इन्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको उल्लेख गर्दै मिचिएको भू–भाग फिर्ता ल्याएरै छाड्ने दाबी गरे ।

‘राष्ट्रियताको प्रश्नमा नेपालले एक इन्च जमिन पनि कसैलाई छोड्नेवाला छैन । एक इन्च जमिन पनि मिच्न दिनेवाला छैन । मिचिएको भए फिर्ता ल्याउँछौं भनेर हामीले नक्सा जारी गरेका छौं,’ ओलीले भने, ‘संसद्ले सर्वसम्मतका साथ पारित गरेको छ । त्यो कुराको फेरि ग्यारेन्टी गर्न चाहन्छु,’ ओली प्रधानमन्त्री हुँदा नै भारतद्वारा अतिक्रमण गरिएका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर पहिलो चुच्चे नक्सा जारी गरिएको थियो ।

पूर्वप्रधानमन्त्री ओलीले कित्र्ते खोल्सीलाई महाकाली उल्लेख गरेर भारतले ६० वर्षदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेको बताउँदै अब मिचिएको भू–भाग फिर्ता ल्याउने समय आएको बताएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot