Logo

एपिएफ बेलबारी गोल्डकपको सेमिफाइनलमा



काठमाडौँ,२० कार्तिक । सशस्त्र प्रहरी (एपिएफ) काठमाडौँ पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखराको सहारा क्लबलाई टाइब्रेकरमा पाँच–चार गोल अन्तरले पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।

टाइब्रेकरमा एपिएफकालागि सनिश श्रेष्ठ, नवीन लामा, सुदीप शिखरकार, दीपेश धिमाल र राजु नगरकोटीले गोल गरेका थिए । त्यसैगरी सहारा क्लबका लागि दीपेश आलेमगर, सरोज योञ्जन, जय गुरूङ तथा अजित भण्डारीले गोल गरेका थिए भने आशिष गुरुङको गोल गर्नबाट चुकेका थिए ।

एपिएफका लागि नवीन लामाले खेलको २३औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि खेलको ४०औँ मिनेटमा पोखराका लागि दीपेश आलेमगरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि खेल अवधिभर दुई टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

एपिएफका गोलरक्षक राजु नगरकोटी प्लेयर अफ दि म्याच चुनिए । उनले नगद रू पाँच हजार पुरस्कार र ट्रफि हात पारे । कात्तिक २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टोलीले रू आठ लाख एक हजार र उपविजेताले रु चार लाख एक हजार नगद पुरस्कार पाउने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईले बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot