Logo

घट्यो राजस्व असुली



नेपालगन्ज, कात्तिक २५ ।अघिल्लो आर्थिक वर्ष २०७८/८९ मा नेपालगन्ज भन्सार कार्यालयले साउन महिनामा लक्ष्यको १३१ प्रतिशत, भदौमा ९३ दशमलव ६८ प्रतिशत र असोजमा लक्ष्यको १०१ दशमलव ३ प्रतिशत राजस्व असुल गरेको थियो। तर चालु आर्थिक वर्ष २०७९/८० को साउनमा ७५ दशमलव ७५ प्रतिशत, भदौमा ६४ दशमलव २५ प्रतिशत र असोजमा ५४ दशमलव ८६ प्रतिशत राजस्व असुली भएको छ। यो गत वर्षको तुलनामा लक्ष्यको निकै कम असुली हो।

राजस्व असुलीमा कमी आउनुमा व्यवसायी एवम् सम्बद्धहरू तस्करका लागि भन्सार खुकुलो हुनु मुख्य कारण रहेको बताउँछन्। भन्सार प्रशासनले इमानदारीपूर्वक काम नगरेको आरोप पनि लाग्दै आएको छ। नेपालगन्ज भन्सारका प्रमुख नरबहादुर थापा भने यस वर्ष राजस्व असुलीमा कमी आउनुमा सरकारले केही वस्तुमा लगाएको प्रतिबन्ध र व्यवसायमा आएको गिरावट मुख्य कारण बताउँछन्।

तथ्यांक हेर्दा पनि ठूला भन्सारका रूपमा रहेका विराटनगर, वीरगन्ज र भैरहवा भन्सार कार्यालयको राजस्व असुलीको अवस्था पनि यस्तै छ। वीरगन्ज भन्सारमार्फत गत आर्थिक वर्षको साउनमा ९९ दशमलव ५ प्रतिशत असुली भएकोमा यस वर्ष ८५ दशमलव ५ प्रतिशत मात्रै असुली भएको छ। त्यस्तै भदौमा अघिल्लो वर्ष ११३ प्रतिशत असुली भएकोमा यस वर्ष ७३ प्रतिशत र अघिल्लो असोजमा १२० प्रतिशत असुली भएकोमा यस वर्ष मात्र ५७ दशमलव १ प्रतिशत असुली भएको छ।

उता, विराटनगरमा अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा क्रमशः ९७, ९३, ९३ प्रतिशत असुली भएकामा यस वर्ष क्रमशः ८० दशमलव ९, ६५ दशमलव २३ र ५५ दशमलव १३ प्रतिशत असुली भएको छ। भैरहवामा अघिल्लो वर्ष क्रमशः १०५ दशमलव ५८, १०९ दशमलव ५९ र असोजमा ११२ दशमलव ८ प्रतिशत असुली भएकामा यस वर्ष क्रमशः ७० दशमलव ९८, ६६ दशमलव ९३ र ४१ दशमलव ४६ प्रतिशत मात्रै असुली भएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot