Logo

चितवन पुगेर प्रचण्डमाथि खनिए ओली, गुण्डा पठाएर मान्छे कुट्न लगाएको आरोप



काठमाडौं, २८ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालमाथि गुण्डा पठाएर गोरखामा मान्छे कुटाएको आरोप लगाएका छन् । आज (सोमबार) चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले प्रचण्ड चितवनबाट भागेर गोरखा पुगेपनि चुनाव जित्नको लागि गुण्डा प्रयोग गरेको गम्भीर आरोप लगाए । उनले भने,‘गोरखामा प्रचण्डको हालत के रहेछ भनेर थाहा पाइसक्यौँ। मान्छे कुट्न थाले। खाना खाइरहेको ठाउँमा गुन्डा पठाएर बोतलै बोतलै हानेर टाउको फुटाउनतिर लागे।’

सो क्रममा उनले चितवन–३ मा कांग्रेसबाट विद्रोह गरेर चुनाव उठेका दिनेश कोइरालालाई जिताउन अपिल गरेका छन् । उनले कोइराला राजनीति बुझेको र लोकतान्त्रिक चरित्रको भएको भनेर पनि चित्रण गरे ।

उनले भने,‘कोइराला लोकतान्त्रिक चरित्रको मान्छे हो। राजनीति बुझेको मान्छे हो। नारायणीको तिरमा माछा चुनाव चिन्ह लिएर उठ्नुभएका कोइरालालाई जिताउन एमालेले सहयोग गरेको छ।’ चितवन–३ मा माओवादीले डा. भोजराज अधिकारीलाई चुनावी मैदानमा उतारेको छ । सो क्षेत्र प्रचण्डको चुनावी क्षेत्र हो । दाहाल भने गोरखा–२ पुगेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot