Logo

डडेलधुरामा शेरबहादुर देउवाका विपक्षी उम्मेदवारहरुको धरौटी समेत जफत हुन्छः नैनसिंह महर



काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सातौं पटक पनि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सहज विजय हुने बताएका छन् ।
‘आज प्रचारप्रसारको अन्तिम दिन हो । डडेलधुराको ५२ वटै वडामा गठबन्धनको पक्षमा माहोल छ । सातौं पटक पनि देउवा नै निर्वाचित हुनुहुनेछ । यहाँको बलियो प्रतिपक्षी नेकपा एमालेको उम्मेदवारी फिर्ता भएको छ । अर्को बलियो दल नेकपा (माओवादी केन्द्र) गठबन्धनमै छ । प्रतिपक्षीविहीन भएकाले यहाँको चुनाव गोलकिपर बिनाको फुटबल जस्तो हुन सक्छ । जति गोल हाने पनि भयो । बरु जाली नै च्यातिन्छ भन्ने डर हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महरले भने ।
देउवाविरुद्ध उठेका उम्मेदवारहरुको जमानत समेत जफत हुने सम्भावना रहेको उनले दाबी गरे । महरले भने, ‘उहाँका विरुद्ध उठेका उम्मेदवारहरुको ओजपूर्ण उपस्थिति देखिएको छैन । स्वतन्त्र उम्मेदवार सागर ढकालको गतिविधिले जनमत आकर्षित हुन सकेको छैन । बीपी कांग्रेसका कर्ण मल्ल २८ वर्ष देउवाकै सामीप्य पाएको व्यक्ति हो । बीपी कांग्रेसका उपसभापति पुष्प पराजुलीले नै तनहुँमा उम्मेदवारी फिर्ता लिएर शंकर भण्डारीलाई समर्थन गरेको स्थिति छ । त्यसकारण हामी पटक्कै चिन्तित छैनौैं ।’
आफूले सुरु गरेको पूर्वाधार विकासको कामलाई निरन्तरता दिन देउवा सातौं पटक मैदानमा उत्रिएको महरले बताए । उनले भने, ‘सम्भवतः यो उहाँको अन्तिम निर्वाचन पनि हो । उहाँले डडेल्धुरालाई राजनीतिक र विकासको पहिचान दिलाउनुभएको छ । मेडिकल कलेज ल्याउनुभएको छ । स्वास्थ्य, शिक्षा, खानेपानीमा थुप्रै कार्यक्रम छन् । पूर्वाधार विकासको काम पूरा गर्न बाँकी छ । अब पनि उहाँ नै प्रधानमन्त्री बन्ने भएकाले हामीलाई ढुक्कै छ ।’ अब दुई तिहाइ बहुमत सहित गठबन्धनको सरकार बन्ने र बिस्तारै पार्टीले एक्लै लड्ने आधार बनाउने पनि उनले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot