Logo

केपी ओलीबाट प्रधानमन्त्रीको प्रस्ताव आए पनि अस्वीकार गर्ने प्रचण्डको दाबी (भिडिओसहित)



काठमाडौं, १ मंसिर । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्नो सम्बन्ध गिरिजाबाबुकै तहमा पुगेको पनि प्रचण्डले बताए । उनले भने,‘गठबन्धनमा कुनै समस्या हुँदैन । जो प्रधानमन्त्री भए पनि गठबन्धन कन्टिन्यू हुन्छ । प्रधानमन्त्रीको विषय एउटै बैठकमा टुंगिन्छ । म भइनँ भने गठबन्धन तोड्नुपर्छ भन्नेतिर जाँदैन । उनले आफूले केपी ओलीबाट प्रधानमन्त्रीको प्रस्ताव आए पनि अस्वीकार गर्ने दाबी गरे । प्रचण्डले भने, ‘अब विकास र समृद्धिको यात्रा सुरु हुन्छ । म यो गठबन्धन छाडेर कतै जान्नँ ।’

देशभरि गठबन्धनको पक्षमा लहर आएको छ । ‘परासीमा गठबन्धनका पक्षमा लहर आएको देख्यौं । सुर्खेतमा त्यसको डबल देख्यौं । दैलेखमा अझ बढी लहर देख्यौं । सिंगो कर्णालीमा लहर आएको देख्यौं । देशभरि गठबन्धन र माओवादीको पक्षमा लहर सुरु भैसक्यो । गठबन्धनको बहुमत सुनिश्चित भइसकेको छ । जनताले विकास र सडक सञ्जालको अपेक्षा गरेका छन् । आर्थिक र राजनीतिक क्रान्ति सँगसँगै गएन भने परिवर्तन दिगो बनाउन सकिँदैन भन्ने हामीले बुझेका छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रचण्डले भने ।

जनताले त तपाईंलाई टाउकोको मूल्य तोक्ने शेरबहादुर देउवासँग मिल्ने भनेका छन् नि भन्ने प्रश्नमा उनले भने, ‘त्यो इतिहासको ज्ञान नै नभएका मानिसले वा जानीबुझीकन गठबन्धनमा दरार ल्याउन चाहने तत्त्वले भन्ने कुरा हो । आमनेसामने लड्नेहरुबीच नै सम्झौता भएर नै शान्ति आउने हो । यो द्वन्द्व मुलुकले थेग्न सक्दैन भन्ने बिन्दुमा पुगेर हामी शान्ति सम्झौतामा आएका हौं ।’ उनले शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला नायक र अर्को हस्ताक्षरकर्ता प्रचण्ड खलनायक हुनै नसक्ने जिकिर गरे ।

तपाईंमाथि केपी शर्मा ओलीले १७ हजार मानिस मारेको आरोप लगाइरहनुभएको छ नि भन्ने प्रश्नमा उनले थपे, ‘केपी ओलीमा झूटो कुरालाई बडो ढोंगी र पाखण्डी तरिकाले बताउने क्षमता छ । के शान्ति सम्झौतामा आउनु गलत हो भन्न खोजको हो ? नेपाल असफल राष्ट्र हुनुपर्थ्र्यो भनेको हो ? नेपालमा विदेशी सेना आउनुपथ्र्यो भनेको हो ? युगान्तकारी जागरण ल्याउने प्रचण्डको टाउकोमा सत्र हजार हत्याको कुरा हाल्न मिल्छ ? ९९ प्रतिशत बेपत्ता त राज्यले नै गरेको हो । प्रधानमन्त्री हुनलाई सबैथोक जनयुद्धले गरेको भन्ने, अहिले विवाद परेपछि यतिसम्म झुटो बोल्ने ?’

पार्टी एकता गर्नु र वाम गठबन्धन गर्नुलाई गल्ती महसुस गर्नुभएको छ भन्ने अर्को प्रश्नमा उनले भने, ‘मेरो नियत र स्प्रिटमा गल्ती थिएन । नेकपा एकता असफल भयो । केपी प्रवृत्ति पटक्कै सच्चिएको रहेनछ । उहाँले मौका पाएपछि संघीय गणतन्त्र उल्टाउने षडयन्त्र मैले बुझ्न सकिनँ । त्यो मेरो कमजोरी हो । मेरो ज्ञान देश बनाउन काम लाग्छ ।’

आगामी निर्वाचनमा नेकपा एमालेले ४० सिट वरिपरि मात्र जित्ने प्रचण्डको दाबी छ । उनले थपे, ‘केपी ओलीबाट देश बन्दैन, विनाश मात्र हुन्छ । जबसम्म संसद् विघटन अपराध हो भनेर क्षमायाचना गर्दैनन्, तबसम्म मिलेर जाने सम्भावना छैन ।’ उनले आफूले छाडे पनि चितवनमा गठबन्धनले नै जित्ने दाबी गरे । गोरखाले बोलाएर गएकाले जित्नेमा ढुक्क भएको पनि उनले बताए ।

तपाईंले त रामचन्द्र पौडेललाई पनि भावी प्रधानमन्त्री भनिदिनुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा प्रचण्डले भने, ‘मैले भावी प्रधानमन्त्री शब्द प्रयोग गरेको होइन । पार्टीभित्र सहमति भयो भने वरिष्ठ नेतालाई प्रधानमन्त्री बनाउन नहुने के छ र ? गगन थापाले भनिरहनुभएको छ । प्रकाशशरण महतले देउवा नै प्रधानमन्त्री हुनुहुन्छ भनिरहनुभएको छ । अब एउटा थपिने हो । अहिले देउवा प्रधानमन्त्री हुनुुहुन्छ । अहिले हामी त्यसबारे केही बोल्दैनौं ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot