Logo

यस्तो छ शीर्ष नेतृत्वको मतदान कार्यक्रम



काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा मतदान गर्ने कार्यक्रम रहेको छ । उनले गन्यापधुरा–१, रुवाखोलास्थित आसिग्राम माध्यमिक विद्यालयबाट मतदान गर्दैछन्। प्रधानमन्त्री देउवाले अहिले बिहान ९ बजे मतदान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्दैछिन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका–९ स्थित रम्फोक राष्ट्रिय मावि फिक्कल मतदान केन्द्रबाट मतदान गर्दैछन् । यसैगरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ मा रहेको महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गर्दैछन् । त्यस्तै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन निर्वाचन क्षेत्र नंं ३ को शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्दैछन्। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नपास्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्दैछन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्रावि केन्द्रबाट मतदान गर्दैछन् भने पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलाम नगरपालिका–७, महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट मतदान गर्दैछन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको वराह क्षेत्र नगरपालिका–१०, प्रकाशपुरस्थित मतदान केन्द्रबाट र गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयको केन्द्रबाट मतदान गर्ने कार्यक्रम रहेको छ ।

पूर्वसभामुख तथा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको ब्यास नगरपालिका–२ को सत्यावती मावि केन्द्रबाट मतदान गर्दैछन् । कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रमा मतदान गर्दैछन् ।

लोकतान्तिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका–१ मा मतदान गर्दैछन् । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम रहेको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन मावि मतदान केन्द्रबाट मतदान गर्दैछन् भने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७, राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम छ ।

जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरीबाट मतदान गर्दैछन् । कांग्रेस नेता शेखर कोइरालाले विराटनगर–७ को आदर्श विद्यालयमा मतदान गर्दैछन् । कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँ महानगरपालिका–३०, मैतीदेवी मन्दिरपूर्व मयूरकुण्डमा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot