Logo

पहिरोपीडितले पाए नयाँ घर



हुम्ला, मंसिर १४ । एक वर्षअघि पहिरोमा परेर गाउँका अधिकांश घर भत्किएपछि बासविहीन बनेका पीडित स्थानीयवासीका नयाँ घर ठडिएका छन्।

सिङ्गो गाउँलाई नै पहिरोले क्षति पु-याएपछि कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा बस्ती विस्तार कार्यक्रममार्फत जस्तापाताले छाएका नयाँ घर निर्माण भएका हुन्। बासविहीन बनेको छ महिनापछि नयाँ घरमा बस्न पाउँदा पहिरोपीडितलाई राहत मिलेको छ।

खार्पुनाथ गाउँपालिका–२ को थालीगाउँका पहिरोपीडित मनसिङे दमाईले जस्तापाताले छाएको नयाँ घरमा सर्न पाएकोमा खुसी व्यक्त गरे। यसअघि उनी माटोको छानो भएको घरमा बस्दै आएका थिए । सो घरमा बसेकै बेला गत वर्षको कात्तिक पहिलो हप्ता अविरल वर्षासँगै आएको पहिरोले उनीलगायत गाउँका १८० घरधुरीलाई विस्थापित बनाएको थियो। घर भत्किएपछि विस्थापित परिवार पाल टाँगेर बस्दै आएका थिए।

नयाँ सुरक्षित स्थानमा घर निर्माण गरेर सरेपछि अब सुरक्षित भएको उनले बताए। यसअघि माटोले छापेको घरमा बस्दा सधैँ बर्खायाममा पानी चुहिने र घर भत्किने त्रासका बीच वर्षदिन बित्ने गरेको सम्झिँदै उनले भने, “मलगायत यस वडाका नौ घरधुरीका दलितले पनि नयाँ घर पाएका छन्।”

नयाँ घर पाएका अर्का स्थानीय जय रावलले अब वर्षौंसम्म सुरक्षित घरमा बस्न पाइने बताए। छ महिना लगाएर बस्ती विस्तार कार्यक्रमको मापदण्डबमोजिम निर्मित घरमा तीन दिनअघि उनी सरेका छन्। पहिरोले घरमा क्षति पु(याएर बस्न सक्ने अवस्था नभएपछि उनी पाल टाँगेर बस्दै आएका थिए। गत वर्षको पहिरोमा बाँचेर नयाँ घरमा बस्न पाएको बताउँदै उनले गाउँघरमा सरकार भएको अनुभूति जनताले गर्न पाएको बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्