Logo

छात्रवृत्तिको रकम सकिएपछि घटे विद्यार्थी



दोलखा, १४ मंसिर । दोलखाका निकेस मानन्धर धौलागिरि आवासीय बहिरा विद्यालयमा तीनवर्षे कम्प्युटर इन्जिनियरिङ ‘कोर्ष’ गर्दैछन् । उहाँको छैटौँ सेमेस्टरको पढाइ भर्खर सुरु भयो, तर उहाँ दसैँअघि नै घर फर्किएका छन् ।

सिटिइभिटीबाट मान्यता प्राप्त कम्प्युटर इन्जिनियरिङको कक्षाका लागि सरकारले छात्रवृत्ति दिएको थियो । हरेक महिना प्रतिविद्यार्थी चार हजार रुपैयाँ दिएकाले टाढाबाट आएका विद्यार्थीले डेरा लिएर पढ्न सकेका थिए । कोरोना सङ्क्रमणका कारण समय लम्ँिबदा उनीहरुको अन्तिम सेमेस्टर बल्ल सुरु भयो, तर छात्रवृत्ति आउन भने छाड्यो ।

छात्रवृत्ति रकम नआएपछि मानन्धर जस्तै उहाँका धेरै साथीले कक्षा छाडेका छन् । उनीहरु घरमा गएर बसेका छन् । यता कक्षा रित्तो बन्न थालेको प्रधानाध्यापक रेशम श्रीषले बताउनुभयो । ‘‘पैसा तिरेर डेरा बस्ने, शुल्क तिर्ने काम गर्न सक्दैनन्, त्यसैले धेरैले विद्यालय छाडेका छन्”, उनले भने, “विद्यालयमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेको छु, तर कति आउने हुन् थाहा छैन ।” विद्यालयले मङ्सिर १५ गतेभित्र सबै विद्यार्थीलाई हाजिर हुन सूचना प्रकाशित गरेको हो ।

प्राप्त छात्रवृत्तिमा अभिभावकले थपेर सदरमुकाममा डेरामा बस्ने खाने व्यवस्था गरेका थिए । रकम आउन छाडेपछि खानबस्न समस्या भएर अभिभावकले छोराछोरी फिर्ता लगेका हुन् । कोरोना सङ्क्रमणकालमा पढाइ बन्द भएकाले कोर्ष नसकिएको श्रीषले बताए । ‘‘अन्तिम सेमेस्टरको पढाइ बल्ल सुरु भएको छ, तर विद्यार्थी छैनन्’’, उहाँले भन्नुभयो, ‘‘अभिभावकलाई फोन गरेर विद्यार्थी फर्काउन भनेको छु ।’’ यति लामो समयसम्म पढाइ सकेका अभिभावकले अन्तिम सेमेस्टर छाडेमा बालबालिकाको भविष्य अन्योल बन्ने उनले बताए ।

यो विद्यालयमा देशभरका सुस्त श्रवणयुक्त विद्यार्थी पढ्छन् । कम्प्युटर इन्जिनियरिङ पढ्न पनि देशभरबाट नाम निकालेर आएकाहरु छन् । एउटा कक्षामा ४० जनाको कोटा छ । तीमध्ये अन्तिम सेमेस्टरका एकादुईबाहेक सबै विद्यार्थी घर गएकाले मङ्सिर १५ गतेभित्र हाजिर हुन आउन विद्यालयले सार्वजनिक सूचना जारी गरेको हो । उक्त सूचनापछि केही अभिभावकले चासो राखेर विद्यालयमा सम्पर्क गरेका छन् । तर कतिपयलाई जानकारीसमेत छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot