Logo

आज पुस १, जननिर्वाचित सरकारमाथि ‘कू’ गरेर पञ्चायत शासन शुरु भएको दिन



काठमाडौं, पुस १ । आज पुस १ अर्थात तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुआत गरेको दिन । २०१७ पुस १ गते आजकै दिन प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गरेका थिए ।

आजको दिनलाई प्रजातन्त्रमाथि ‘कू’ भएको दिनको रुपमा हेर्ने गरिएको छ । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका बेला प्रधानमन्त्री कोइराला लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलको बन्दीगृहमा बन्दी बनाइएको थियो ।

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको थियो।

कालो दिनको रुपमा स्मरण गरिने पुस १ गतेको घटनापछि बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतसमेत सुन्दरीजल बन्दीगृहमा थुनेका थिए ।

पुस १ गते तरुण दललगायत संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनलाई कालो दिवसका रूपमा मनाउँदै आएका छन्। यसै अवसरमा आज नेपाली कांग्रेस र नेपाल तरुण दललगायतले देशभर विभिन्न कार्यक्रम गरी मनाउने जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्