Logo

भारत–नेपाल संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ को १६औं संस्करण सुरू



काठमाडौं, १ पुष । भारत–नेपाल संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ को १६ औं संस्करण सुरु भएको छ । नेपाली सैनिक ब्याटल स्कुल, सालझण्डीमा आजबाट उक्त अभ्यास सुरु भएको हो ।

दुवै देशको राष्ट्रिय झण्डा फहराउनुका साथै दुई देशका सेनाले आ–आफ्नो सैन्य धुनमा परेड खेलेसँगै ‘सूर्यकिरण’ सैन्य अभ्यासको शुभारम्भ भएको जनाईएको छ । दुई हप्तासम्म चल्ने यस कठिन अभ्यासका दौरान भारतीय सेना र नेपाली सेनाका पैदल सैन्यदलले अन्तर सैन्ययुद्घ क्षमतालाई सुदृढ बनाउन र प्रतिविद्रोह तथा मानवीय सहायता एवम् विपद् राहत अपरेशनबारे अनुभव साटासाट गर्न सँगै मिलेर तालिम गर्नेछन् । भारतीय सेना अन्तर्गतको गोरखा रेजिमेन्टको एक बटालियन यस सैन्य अभ्यासमा सहभागी हुनेछ ।

अभ्यासका क्रममा दुवै सेनाले एकअर्काका हातहतियार, उपकरण, रणनीति र कार्यविधिको बारेमा एक अर्कालाई परिचित गराउने छन् जुन विशेष गरी हिमाली भूभागमा प्रतिविद्रोह वातारणमा काम गर्दा निकै उपयोगी साबित हुनेछ । अभ्यासको दायरा र स्तरलाई थप वृद्घि गर्न दुवै सैन्य टोलीलाई मानवीय सहायता तथा विपद् राहत, हाई एल्टिच्युड वारफेर र जङ्गल वारफेर अपरेशनमा पोख्त पार्न त्यस्तै खाले परिस्थितिमा अभ्यास गराइनेछ । प्रतिविद्रोह वातावरणमा दुवै सेनाको प्रदर्शनलाई मान्यता दिन ४८ घण्टे कडा अभ्याससँगै संयुक्त सैन्य तालिम २०७९ पौष १४ गते समापन हुनेछ ।

भारत र नेपालका सेनाबीचको द्विपक्षीय एवम् आपसी सहकार्यलाई सुदृढ बनाउन तथा दुई देशबीच सदियौंदेखि रहीआएको विशिष्ट र परम्परागत मित्रतालाई थप बलियो बनाउन यो सैन्य अभ्यास ‘सूर्यकिरण’ ले महत्वपूर्ण भूमिका खेल्नेछ । यस ‘सूर्यकिरण’ सैन्य अभ्यास श्रृंखलाले भारत र नेपालबीचको अद्वितीय तथा विशाल सम्बन्धलाई पनि प्रतिबिम्बित गर्दछ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot